राजनीति

ओली र देउवा सम्बन्ध अब मुडभेडतिर, गगनहरुको उदयले सम्बन्धमा फाटो ल्याउँदै


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवालाई एकअर्कामाथि खासै चित्त दुखाई छैन । आफ्नै सरकार ढालेर देउवा प्रधानमन्त्रीमा पुगे पनि ओलीको निशानामा प्रचण्ड–माधव पर्दै आएका छन् । हालसम्मको मौनतालाई चिर्दै रस्साकस्सीको तहमा उनीहरु पुग्ने सम्भावना बढ्दै गएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्तामा रहँदा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षको भूमिका थिए । मिल्नै नसक्ने नदीका दुई किनार जस्तो देखिने ओली र देउवा बीच अपत्यारिलो सुमधुरता थियो ।

सत्ताको गलत कार्यमाथि पनि देउवाले नजरअन्दाज गरे जस्तो देखिन्थ्यो । मौनताकै बीच कैयौं सहमति गरेका उनीहरुको त्यो सिलसिला ओलीले पहिलोपटक संसद् विघटन गर्दासम्मै चल्यो । यसैकारण प्रतिपक्ष भएर सत्ताको सहयोगी बनेको भन्दै देउवामाथि काँग्रेसभित्रैबाट आरोप लाग्दै आएको थियो । तथापी दोस्रो पटकको संसद् विघटनपछि ओलीकै सत्ता ढालेर देउवा प्रधानमन्त्री बनेका छन् । तर पनि उनीहरु सडकदेखि सदनसम्म एकअर्काविरुद्ध सम्हालिदैँ आएका छन् ।

अहिले दुबै नेता पार्टीका महाधिवेशनबाट पुनः नेतृत्वमा आएका छन् । फलतः पहिलेको मौनता अब प्रतिस्पर्धा मात्रै नभएर रस्साकस्सीकै तहमा पुग्ने देखिन्छ । संवैधानिक आयोगको भागबण्डादेखि एमसीसीको मुद्दासम्म ओली–देउवाबीच मत ऐक्यता देखिन्छ । दुवैको पार्टी चलाउने शैली पनि उस्ताउस्तै छ । तर पार्टीको नेतृत्वमा आउने उनीहरुको शैली भने फरक परेको छ । ओलीले चितवनको एक होटलमा सूचि तयार पारे र त्यसमा आफैँलाई अध्यक्ष दाबी गर्दै अनुमोदन गर्न खोजे । तर केही नेताको दबाबले चुनावै भए पनि तात्विक भिन्नता देखिएन ।

देउवा रातभर मतदानस्थलमै बसेर महाधिवेशन प्रतिनिधिसँग हातपाउँ जोड्दै भोट मागे र आफुलाई सुरक्षित बनाए । नेतृत्व चयनको विषय महाधिवेशन प्रतिनिधिको जिम्मा लगाउँदा देउवाले नचाहेका अनुहार समेत निर्णायक तहमा आएका छन् । जसले अब काँग्रेसभित्र देउवाको मात्रै नचल्ने देखिन्छ । सदनदेखि सडकसम्म देउवा नीति, विधि र पद्धतिमा चल्न पार्टीभित्रको नयाँ अनुहारले दबाब दिइरहेको छ ।

पदाधिकारीमै देउवाबाहेकको पंक्ति पहिलोपटक निर्वाचित भएर आएपछि काँग्रेस रुपान्तरण र पुस्तारणमा अघि बढी सकेको छ । एमालेमा ओलीकै एकाधिकार र तजबिजमा युवा पंक्ति चल्न बाध्य छ । प्रतिपक्ष एमालेले सभामुखको भूमिका र राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी विभाजन गरिदिएको भन्दै संसद् अवरोधलाई निरन्तरता दिइरहेको छ ।

त्यसलाई अन्त्य गरेर संसद् चलाउनुपर्ने दायित्व पनि प्रधानमन्त्रीमाथि छ । देउवालाई त्यसका लागि दबाब दिने काम पार्टीभित्रकै पंक्तिले गरिरहेको छ । सत्ता गठबन्धनका गतिविधिमाथि ओली खरो उत्रिदै आएका छन् । आगामी आम निर्वाचनमा ओली–देउवाबीच को पहिलो हुने प्रतिस्पर्धा चल्नेछ । फलतः ओली–देउवासम्बन्ध अब मौनतालाई चिर्दै रस्साकस्सीमा पुग्ने तहमा छ ।