राजनीति

प्रचण्डले टिका लगाउन खोज्दा माओवादीमा भएन नेतृत्व चयन,प्रदेश नेतृत्व अलपत्र


काठमाडौँ – नेकपा माओवादी केन्द्र यतिबेला प्रदेशस्तरीय अधिवेशनमा व्यस्त छ । पार्टीले सार्वजनिक गरेको तालिकाअनुसार उसको यो अधिवेशन मंसिर २६ भित्र सम्पन्न भइसक्नु पर्ने थियो । सहमतिको रटान लगाउँदा न सहमति कायम हुन सकेको छ, न पार्टी निर्वाचनमा जाने हिम्मत गरिरहेको छ । नेकपा माओवादीको बागमती प्रदेश समितिमा दुई सय ४५ सदस्य चयन भइसकेका छन् । यी सदस्यमध्ये प्रदेश समितिको अध्यक्षका आकांक्षी कम्तिमा नौ जना देखिएका छन् । नौ जनाबीच सहमति हुन पनि नसक्ने, निर्वाचनमा जाने हिम्मत पनि कसैमा नहुँदा अधिवेशन लम्बिदै गएको छ ।

पार्टीको बागमती प्रदेश हाँक्ने ईच्छा सरल सहयात्री, डिपी ढकाल, दिनानाथ गौतम, अनिल शर्मालगायतले देखाएका छन् । सहमतिका नाममा भइरहेको विलम्व कायम रहन्छ कि कुनै विन्दुमा पुगेपछि चुनावी प्रतिस्पर्धा हुन्छ त ? बागमतीमा पुस ५ सम्ममा नेतृत्व टुंगो लगाउने तयारीमा माओवादी छ । अहिलेसम्म लुम्बिनी र गण्डकी प्रदेशमा बाहेक अन्य ७ वटा समितिमा नेतृत्व चयन हुन सकेको छैन ।

सहमति हुन नसकेका समितिहरुमा निर्वाचनको प्रक्रियाबाट भए पनि अधिवेशन सम्पन्न गर्नुपर्ने मनस्थितिमा पार्टीका नेताहरु छन् । माओवादीमा विगतदेखि नै प्रतिस्पर्धा भन्दा पनि सहमतिका नाममा केही व्यक्तिहरुमा मात्रै नेतृत्व पुग्ने परम्परामा अभ्यस्त छ । विश्लेषकहरुले टीकेप्रथा कायम हुँदा माओवादीका यी समितिहरुले नयाँ नेतृत्व पाउन नसकेको दावी गरेका छन् ।

माओवादीको विधानमा सहमति जुट्न नसके प्रतिस्पर्धामा जान सकिने व्यवस्था छ । तर यो व्यवस्था खासै अभ्यासमा छैन । माओवादीका सात भौगोलिक समिति र दुई गैर भौगोलिक समिति छन् । यी समितिको अधिवेशनले राष्ट्रिय सम्मेलनमा समेत प्रभाव राख्ने भएका कारण यी समितिको नेतृत्व चयन प्रक्रिया पेचिलो बन्दै गएको छ ।