राजनीति

बहुमतका देउवाले गगन–विश्वप्रकाशलाई पेल्न सक्छन् ? पुस्तान्तरणमा सफल, नदेखिएको काँग्रेस रुप देखियो


चर्चित र युवा अनुहारका लागि नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुखद् रह्यो । पार्टीमा रुपान्तरण र पुस्तान्तरणको पक्षमा जोडदार आवाज उठाउने युवाहरुको जवर्जस्त प्रवेशले सभापति शेरबहादुर देउवा दबाबमा पर्न सक्ने आँकलन गरिएको छ । विगतकै कार्यशैली र गुट च्याप्ने परम्परागत छुट सभापति देउवालाई अब रहला ? नेपालीकाँग्रेसको १३ सदस्यीय नवनिर्वाचित पदाधिकारीमा सभापति शेरबहादुर देउवाबाहेकका अन्य बाह्रै नयाँ अनुहारका छन् ।

यसअघि नै देउवाबाट मनोनित महामन्त्री भएर काम गरिसकेका पूर्णबहादुर खड्का पनि१४ औं महाधिवेशनबाट निर्वाचित भएर उपसभापति बने । त्यसपछिको सबैभन्दा महत्वपूर्ण पद महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा जस्ता युवाहरु पहिलो पटक नै पदाधिकारीमा पुगे ।

कांग्रेसको नयाँविधान बमोजिम निर्वाचित भएका सहमहामन्त्रीहरुका कारण कांग्रेसको उपल्लो समिति समावेशी र सन्तुलित पनि देखिएको छ । ६० वर्षपछि पदाधिकारीमा दलित पुगेको पनि यसै पटक हो । नेपालको राजनीतिक क्षेत्रमा पुस्तान्तरणको चर्काे बहस भइरहेका बेला १३ सदस्यीय पदाधिकारीमा आठ जना ५५ बर्ष मुनिका छन् ।

१४ महाधिवेशनमा निर्वाचित हुनेहरुको छिनोफानो पछि पार्टीमा कति रुपान्तरण होला, त्यो हेर्न बाँकी छ तर पुस्तान्तरणको स्पष्ट दृश्य सबै सामु छ । परिवर्तनकै मुद्दा सशक्त रुपमा उठाएर महाधिवेशनमा होमिएको शेखर कोइरालासहित इतर समूहले सभापति देउवालाई अहिले नै सावधान गराउँदै भनिसकेका छन् – पार्टी चलाउन सहयोग गर्छौ, लिकबाट बाहिर गए संघर्ष गर्न पछि पर्दैनौं ।

पार्टी पदाधिकारीमा सभापति देउवा अनुकुलकै बहुमत छ । एक उपसभापति र ५ सहमहामन्त्री देउवा पक्षकै छन् । एक उपसभापति र एक महामन्त्रीसहित २ सहमहामन्त्री शेखर कोइराला पक्षका छन् । एक महामन्त्री अर्थात् विश्वप्रकाश शर्माको झुकाव देउवातर्फ हुन्छ वा के हुन्छ, निश्चित छैन । देउवासंँग समीकरण गरेको कृष्ण सिटौला समूहले एक सहमहामन्त्री जितेको छ । पदाधिकारीमा रहेको यस प्रकारको संरचनाकाकारण सभापति देउवालाई कमजोरी गर्ने छुट हुनेछैन ।

देउवाको अघिल्लो कार्यकालबाट चिढीएको पंक्ति संयोगले अहिले देउवासँगै सहकार्य गर्न आइपुगेको छ । असन्तुष्टलाई समेत सन्तुष्ट बनाएर पार्टीलाई गतिशील बनाउने जिम्मेवारीले देउवामाथि अरु चुनौती थपिएको छ । ‘बुढाको होश र युवाको जोश’ बीच सामञ्जस्य मिल्न नसके देउवाले पाएको यो अर्को अवसर खेर जाने सम्भावना पनि उत्तिकै छ ।