राजनीति

देउवाले बोलाए सर्वदलीय बैठक,एमाले जाने वा नजानेमा अन्योल


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् । संसद्मा भइरहेको अवरोध र गतिरोध अन्त्यका लागि बैठक बोलाइएको हो ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार सबै दललाई पत्र पठाइसकेको छ । तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रेस सहयोगी रामशरण बजगाईंले भने आफूहरुले अहिलेसम्म पत्र प्राप्त नभएका जानकारी दिएका छन् । उनले पत्र प्राप्त गरिसकेपछि बैठकमा जाने वा नजाने बारे निर्णय हुने बताए ।

शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो । बालुवाटारमा भएको भेटवार्तामा संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा दुई नेता सहमत भएका थिए ।