राजनीति

भीम रावलले भने – टीके प्रणालीको सल्लाहकार परिषद् सदस्य स्कीकार गर्दिनँ


काठमाडौँ — नेकपा एमालेका नेता भीम रावलले आफूलाई पार्टीले सल्लाहकार परिषद् सदस्य बनाएको भन्ने समाचारप्रति आपत्ति जनाएका छन् ।

पार्टीको १० औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका डा. रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीविहीन भएका थिए।

अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले बताएका थिए । तर, नेता रावलले सल्लाहकार परिषद् सदस्य पदबारे अनविज्ञता प्रकट गर्दै उनले ट्विटरमा लेखेका छन्, ‘मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो ।

यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’

सल्लाहकार परिषद् सदस्य बनाएकाबारे आफूलाई जानकारी नभएको उल्लेख गर्दै टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत भएको टिप्पणी गरेका छन् ।