कोरोना विशेष

भोलिदेखि १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै


काठमाडौँ — सरकारले भोलिदेखि १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने भएको छ । पहिलो चरणमा ५७ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहकालाई मोर्डनाखोप दिन लागिएको हो । यो खोपको दोस्रो डोज माघ २ देखि १२ सम्म दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारी तथ्यांकअनुसार नेपालमा १२ देखि १७ वर्ष उमेर समूहको संख्या ३४ लाख २५ हजार ४०८ छ । पुस १३ देखि २२ सम्म आठ जिल्लाका बालबालिकालाई फाइजर खोप दिने तयारी छ । फाइजरको अर्को डोज माघ ४ देखि १३ सम्म दिइनेछ ।

फाइजर खोप १२ वर्षमाथिको उमेर समूहमा प्रभावकारी मानिएको छ । मोडर्ना खोप प्रदेश १ काताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुरका बालबालिकालाई दिइने छ ।

यस्तै‚ प्रदेश २ का सिरहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लामा यो खोप लगाइने छ । बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुरमा, गण्डकीका गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासीपूर्व, स्याङ्जा र पर्वत तथा लुम्बिनीका रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दियाका बालबालिकालाई मोर्डनाखोप लगाइने छ ।

यस्तै कर्णालीका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान, र सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुरका बालबालिकालाई मोर्डना खोप लगाउने सरकारको तयारी छ ।

दोस्रो चरणमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतका बालबालिकालाई फाइजर खोप दिइनेछ । नेपालमा हिजोसम्म अनुदान र खरिद गरी ३ करोड ५४ लाख ६६ हजार ९ सय ८० डोज खोप भित्रिएको छ । आगामी मार्चसम्म थप करिब ३ करोड डोज आउनेछ ।

देशभर २ करोड १४ लाख ४५ हजार १४५ डोज लगाइएको छ । एक डोज मात्र लगाउने १ करोड १९ लाख १३ हजार ८ सय ८६ जना छन् भने पूर्ण खोप लिनेको संख्या ९५ लाख ३१ हजार २५९ छ ।