राजनीति

ओली प्रचण्डको ‘भाले जुधाई’: आफ्नै इज्जतमा छुरा चलाउने, दुनियाँ हसाउने (भिडियोसहित)


काठमाडौँ — बैचारिक एकता नहुँदा पनि सत्ता स्वार्थ मिलेपछि पार्टी एकता गरेर अघि बढेका केपी शर्मा ओली र पुष्पकमल दाहालको नेकपा शक्तिकै टकरावका कारण फुटेर तीन दल भइसकेको छ । र पनि यी दुई नेताहरु भने एकले अर्कालाई देखि नसहने र एकले अर्कालाई भ्याएसम्मको आरोपित गर्ने विकृती झन् झन् मौलाउँदो छ ।

पार्टी एकताको उदारो भाका राखेर केपी शर्मा ओली र पुष्पकमल दाहालले बाम गठवन्धन बनाएर गएको निर्वाचनमा होमिएको थियो । विकास र समृद्धिको नारा बनाएर जनतामाझ उभिएका यी नेताहरुले २०७४ जेठ ३ गते पार्टी एकता त गरे । तर एउटै पार्टीमा ओली प्रचण्ड नामको दुई सिंह अटाउन सकेन र शक्तिको टकरावकै कारण पार्टी फुट्यो । पुरानो अवस्थामा मात्रै रहेन तीन टुक्रामा विभाजित भयो । अन्तरसंघर्ष, संसद विभाजनदेखि ठूलो राजनीतिक उथलपुथलबाट आत्मघाती राजनीतिक आक्रमण व्यहोरे । अहिले पार्टी फुटको अवगुण एक अर्कामा आरोपित गर्ने मात्रै होइन इतिहास भइसकेका विषयहरु समेत कोट्याएर दुख दिइरहेका छन् ।

पार्टी विभाजनका ९ महिना वितिसक्दा पनि नेताहरुबीच एकले अर्कालाई खुल्याउने प्रवृत्ति भने थप बढ्दो छ । गत शनिबार ’प्रचण्ड’ले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजी बजारमा हुनु साम्राज्यवादको विकसित रूप भएको तर्क गरे । लगत्तै बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले सेयरवालाहरुले चन्दा नदिएपछि उनीहरुलाई ध्वस्त बनाउने गरी प्रचण्डले त्यस्तो अभिव्यक्ति दिएको आरोप लगाए ।

प्रचण्डले ओलीको आरोपको खण्डन गर्दै विहीबार प्रेस विज्ञप्ति नै जारी गर्दै पुँजीवादको चरित्रबारे आफ्नो विश्लेषण सही रहेको दाबी गरेका छन । बुधबार नै ओलीले प्रचण्ड र ज्ञानेन्द्रबीच भारतमा पाँच बुँदे सहमति भएको र दुईजना बीचको साँठगाँठमा उपद्र मच्चाइएको अभिव्यतिm दिएपछि अहिले ओली प्रचण्डबीच झगडा अझ चर्किएछ । विहिबार पे्रस विज्ञप्ती नै निकालेर केपी ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिएका छ । ओलीले झुटो कुरा प्रचार गरेर आफ्नो दरिद्र राजनैतिक चरित्र प्रदर्शन गरेको बताएका छन ।

नेपालका कम्युनिष्ट नेताहरुको खराव प्रवृत्ति पुरानो भएको विश्लेषकहरुको भनाई छ । नेताहरुबीच विचारको लडाई भन्दा व्यतिmगत स्वार्थको लडाई भएको उनीहरु बताउँछन । पार्टीभित्र जबसम्म विचारको बहस स्थापित नभएसम्म यहि क्रम चल्ने उनीहरुको विश्लेषण छ । यहि तरिकाले पार्टी अगाडि बढे अबको केहि वर्षमा कम्युनिष्ट पार्टी बत्ति बालेर खोज्नुपर्ने उनीहरुको दावी छ ।

शीर्ष नेताहरु जुँगाको लडाइँमा अल्झिएकै छन् । आफ्ना पार्टीको होस् या अन्य पार्टीले निमन्त्रणा दिएका कार्यक्रम । साना ठुला मञ्च भेट्टायो किन एकले अर्कालाई मनग्य गाली गर्दै मनको भँडास पोखेर आनन्द लिइरहेका छन् । नेताहरू एकले अर्कालाई गाली गलौज गर्दा सामान्य राजनीतिक चरित्र समेत कायम राख्न सकेका छैनन् । एकले अर्कोलाई होच्याएर गाली गर्ने प्रवृत्तिले यी दुर्य नेताले आफ्नै राजनीतिक प्रतिष्ठामाथि प्रहार गरिरहेका छन् ।