खेलकुद

खिजीदेम्बामा जिल्लाव्यापी भलिबल प्रतियोगिता हुँदै


काठमाडौँ — ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका– ६ बन्सेमा जिल्लाव्यापी भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । पशी शेर्पा ट्रष्टले ओखलढुंगा भलिवल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

गायक गम्बु शेर्पाका आमा पशी शेर्पाको नाम स्थापना भएको पशी शेर्पा ट्रष्टले फागुन दोस्रो सातादेखि खिजिदेम्बा गाउँपालिका– ६ बन्सेमा जिल्लाव्यापी रनिङ शिल्ड भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको ट्रष्टका सहकोषाध्यक्ष दावा जाङबु शेर्पाले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टोलीले क्रमश.नगद एक लाख १ हजार, ७५ हजार, ५० हजार र सान्त्वना हुने टोलीले नगद रु २५ हजारको शिल्ड, मेडल र ट्रफि प्राप्त गर्ने ट्रष्टका सहकोषाध्यक्ष दावा जाङबु शेर्पाले जानकारी दिनुभयो ।

खेलकुदमा जागरुक गर्ने उद्देश्यले खेलकुुदको माध्यमबाट आपसी सद्भाव सहिष्णुता कायम गर्दै युवाहरुमा रहेको खेल प्रतिभालाई उजागर गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादनमा विशेष टेवा पुगोस भन्ने भलिबल प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।


प्रतियोगिता आयोजनाका लागि पासाङ निमा शेर्पाको अध्यक्षतामा २७ सदस्यीय र लालमा तामाङको संयोजकतामा ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।

ट्रष्टले हरेक वर्ष खिजिदेम्बा गाउँपालिकाबाट कक्षा १२ मा उच्च अंक ल्याउने छात्रा तथा छात्रलाई जनही ५१ हजार नगदको पुरस्कार प्रदान गर्ने निर्णय समेत गरेको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै गाउँपालिकामा रहेका स्वास्थ्य स्वयंमसेविकालाई नगदसहित सम्मान गर्ने निर्णय समेत गरेको छ ।