खेलकुद

क्यानका अध्यक्षलाई देउवाको प्रश्न : खेलाडीको कारवाही के हो ?


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादु चन्दलाई फोन गरेर क्रिकेटरलाई कारबाही गरिएको विषयमा सोध खोज गरेका छन् । देउवाले चन्दलाई फोन गरेर खेलाडीलाई कारवाही गरेको विषय के हो ? भनेर प्रश्न गरेका थिए ।
प्रधानमन्त्री देउवालले अध्यक्ष चन्दलाई फोनमा भने, ‘क्यानमा के गरेको हो यो ? प्रचण्डजीले पनि यसमा चासो राख्नुभएको छ, मिलाउनुस् है’, ।

देउवाले चन्दलाई फोन गर्नुअघि नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहालले कारवाहीमा परेका क्रिकेट खेलाडीहरुको विषयमा देउवाको ध्यानाकर्षण गराएका थिए । प्रचण्डले कारवाहीमा परेका खेलाडीहरुको बारेमा देउवाको चासो देखाएपछि देउवाले चन्दलाई फोन गरेका हुन् ।

शुक्रबार बिहान देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए सोही क्रममा उनले देउवालाई खेलाडीको बारे जानकारी गराएका थिए । दुई शीर्ष नेताका बीचको भेटबारे प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले फेशबुकमार्फत् जानकारी गराएकी थिइन् ।

क्यानको बुधबार बसेको बोर्ड बैठकले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पद मुक्त गराउने र यी दुईसहित राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी सोमपाल कामी र कमलसिंह ऐरीलाई २०२२ को वर्गीकरणबाट प्राप्त हुने ६ महिनाको तलब नदिने भन्दै कारवाही गर्ने निर्णय गरेको थियो । सो निर्णयको ६ जना बोर्ड सदस्यले भने विरोध गरेका थिए ।