राजनीति

कांग्रेसलाई सुधार्ने जिम्मा मेरो काधमा आएको छ : शेखर कोइराला


काठमाडौँ – नेपाली कांग्रेसलाई सुधार्ने जिम्मा अब आफ्नो काधमा आएको कांग्रेसका नेता डा.शेखर कोइरालाले बताएका छन् । महाधिवेशनमा कांग्रेस प्रतिनिधिहरुले आफूहरुलाई देखाएको विश्वास र भरोसाप्रति खडा उत्रने बनाएका छन् ।

शीर्ष नेताहरुको गठजोड भए पनि आफूलाई ४० प्रतिशत मत प्राप्त भएको उल्लेख गर्दै कोइरालाले आफू र आफ्नो टिम पार्टीलाई परिवर्तनकारी शक्तिको रुपमा सञ्चालन गर्न जागृह हुने बताएका छन् ।

डा.कोइरालाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मलाई प्राप्त मतले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी मेरो काँधमा आएको छ । मलाई प्रतिनिधि साथीहरुबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु ।’

पार्टीमा यथास्थिति चाहनेहरुको आफूविरुद्ध अपवित्र गठजोड भए पनि राजनीतिक रुपमा लडाइँ जितेको कोइरालाले विज्ञप्तिमा उल्लेख गरेका छन् । सभापति पदमा पराजित भए पनि प्रतिनिधिहरु र लोकतन्त्रवादीहरुको ‘मन’ जित्न आफू सफल भएको कोइरालाको भनाइ छ ।