राजनीति

कांग्रेस महामन्त्रीमा विश्वप्रकाश र गगन विजयी


काठमाडौँ — नेपाली कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा निर्वाचित भएका छन् । निर्वाचन समितिले औपचारिक रुपमा मतपरिणाम घोषणा गर्न बाँकी छ । गगन थापा शेखर कोइराला प्यानलबाट र विश्वप्रकाश शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा विजयी भएका हुन् ।

गगनले भने सुरुवाती चरणदेखि नै अग्रता लिएका थिए । शर्मा र प्रकाशशरण महतबीच भने कडा प्रतिष्पर्धा भएको थियो । महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल , प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा प्रतिष्पर्धा उत्रिएका थिए । डा. राजाराम कार्कीले महामन्त्रीमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

कांग्रेस विधानमा महाधिवेशनबाट दुईजना महामन्त्री निर्वाचित हुने व्यवस्था छ । कांग्रेसको १४ महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका हुन् ।