राजनीति

एक घण्टा ढिलो गरि महामन्त्रीको मत गणना सुरु


काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना पार्टी कार्यालय सानेपामा सुरु भएको छ । मतगणना पूर्वनिर्धारित समयभन्दा एक घण्टा ढिलो गरि सुरु भएको हो ।

बिहान ९ बजेदेखि नै मतगणना सुरु गर्ने भनिए पनि एक घण्टा ढिला सुरु भई १०ः२० बजेदेखि मात्र मतगणना सुरु भएको थियो । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारीका अनुसार तीन स्थानमा मतगणना राखिएको छ । कुनै प्राविधिक समस्या नआए महामन्त्रीको अन्तिम नतिजा तीनदेखि चार घण्टासम्म आइसक्ने छ ।

निर्वाचनमा गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्माले उम्मेदवारी दिनुभएको थियो । सोमबारको मतदानमा ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मतदाताले मतदान गरेका थिए ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । सभापति र उपसभापति पदको परिणाम घोषणा भइसकेको छ ।