राजनीति

एमसीसी संसद्मा लैजाने तयारी


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस प्रमुख सचेतक पुष्पा भुसाललाई अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा लैजाने तयारी गर्न जिम्मा दिएको बालुवाटारनिकट स्रोतले जनाएको छ । सोहीअनुसार कार्की र भुसालले मंगलबार सभामुख अग्निप्रसाद सापकोटासँग परामर्शसमेत गरेका छन् ।

तर भुसालले भने एमसीसीका विषयमा सभामुखसँग केही छलफल नभएको दाबी गरेकी छिन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग भएको पछिल्लो भेटमा प्रधानमन्त्री देउवाले एमसीसी अगाडि बढाउनुपर्ने बताएका थिए । तर दाहालले सर्वदलीय र गठबन्धन बैठकमार्फत निर्णय लिन देउवालाई सुझाव दिएको थिए । ‘तपाईंहरूले भोट हाले हाल्नुस्, नहाले पनि समस्या छैन तर एमसीसी संसद्मा लैजानुपर्ने भयो,’ देउवाले दाहाल र नेपालसँग राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

प्रधानमन्त्री देउवाले एमसीसी पास र फेल जेसुकै भए पनि संसद्मा पुर्‍याएर आफूले सम्पूर्ण प्रयत्न गरेको सन्देश अमेरिकी सरकारलाई दिन चाहेका छ । तर सत्ता गठबन्धनमा रहेका कांग्रेसबाहेक दल एमसीसी अनुमोदनको पक्षमा छैनन् । यसले गठबन्धनको आगामी भविष्य के हुन्छ भन्ने पनि अन्योलमा परेको छ ।

कांग्रेस सभापतिमा पुनः निर्वाचित भएलगत्तै प्रधानमन्त्री देउवाले एमसीसीसँग भएको अनुदानसम्बन्धी सम्झौता अनुमोदनका लागि संसद्मा लैजाने तयारी थालेपछि सत्ता गठबन्धनमा रहेका अन्य दल सशंकित भएका छन् ।