राजनीति

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान


काठमाडौँ – निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले आज सूचना प्रकाशित गर्दै निर्वाचन प्रयोजनका लागि आजदेखि पुस १० गतेसम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न भनेको छ ।

राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदै छ । रिक्त हुने पदमा एक मनोनितबाहेकका १९ पदका लागि ३५ दिनअगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन सदस्यको पनि फागुन २१ मा कार्यकाल समाप्त हुनेछ । राष्ट्रपतिबाट विषयविज्ञका रूपमा मनोनित सदस्य रामनारायण बिडारीको पनि सोही मितिमा कार्यकाल समाप्त हुँदैछ ।

२०७५ असार ४ गते भएको गोला प्रथाद्वारा चारवर्षे पदावधि कायम भएका सदस्यको पदावधि सकिन लागेको हो । स्थायी सदन भएकाले राष्ट्रियसभाका एकतिहाई सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ । चारवर्षे पदावधि सकिनेमा सात महिला, तीन दलित समुदाय, अपांगता भएका व्यक्ति वा अल्पसंख्यकबाट दुई र अन्य समुदायका सात सदस्य छन् । माथिल्लो सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुन्छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । राष्ट्रियसभा सदस्यका लागि ३५ वर्ष उमेर पुगेको हुनुपर्छ । सत्तारूढ गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा तालमेल गरेर जाने तयारी गरेका छन् ।