राजनीति

अलमलमा राजनीतिक दल : राजनीति स्वार्थमा पिल्सिँदै एमसीसी (भिडियोसहित)


काठमाडौँ — मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी परियोजना सम्झौता लामो समयदेखि संसदबाट पास हुन सकेको छैन । यो विषयको पक्ष र विपक्षमा सडकदेखि सदनसम्म मत विभाजित छ । नेपाली राजनीतिक दल र दलभित्रका नेताहरु समेत एमसीसीका कारण विभाजित छन् । तर साना राजनीतिक दलहरु भने एकजुट नै भएर एमसीसी खाजेरीको पक्षमा उभिएका छन ।

संसद्को हिउँदे अधिवेशन सुरु भएको पहिलो दिन मंगलबार सदनभित्र र बाहिरा भएको विरोधले नयाँ बानेश्वरस्थित संघिय संसद भवनतर्फ सबैको ध्यानकर्षण भयो । आफुले कारवाहिका लागि सिफारिस गरेका सांसदहरुलाई सभामुखले बचाएको भन्दै निरन्तर सदन अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण संसद चल्न सकेन भने संसद भवन बाहिरा विवादस्पद अमेरीकी सहयोग परियोजना एमसीसी विरुद्ध साना राजनीतिक दलहरुले प्रदर्शन गरे । सदन सुरु भएसँगै एमसीसी सदनबाट पास गराउन टेबुल हुने आँकलन गर्दै त्यसको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहित विभिन्न साना राजनीतिक दलले एमसीसी खारेजीको माग गर्दै संघीय संसद भवन बाहिर प्रदर्शन गरे ।

अमेरिकामा नेपालसँगको एमसीसी सम्झौता बारे छलफलको तयारी भइरहँदा नेपालमा एमसीसी खारेजीको आवाज अझ बुलन्द्ध बनिरहेको छ । सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेतृत्व एमसीसीको पक्षमा छन् भने केहि समूह एमसीसी संशोधान गरेर मात्र पास गर्नुपर्ने पक्षमा छ । आफु सत्तामा हुँदा एमसीसी पास गर्ने तरखरमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अहिले एमसीसी बारे सरकारको निर्णयपछि मात्र आफ्नो राय दिने पर्खाइमा छ । सोही पार्टीका भीम रावल लगायतका नेता संशोधन गरेर मात्र पास गर्नुपर्ने पक्षमा छन् ।

सत्तागठबन्धनभित्र एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्रका कृष्ण बहादुर महरा, लीलामणि पोखरेल लगायतका नेता एमसीसी अस्वीकार अथवा संशोधनपछि मात्र पास गर्नुपर्ने अडानमा छन् । ठुला राजनीतिक दलले नागरिकलाई प्रष्ट पार्नु भन्दा गुमराहमा राखेका छन भने साना राजनीतिक दलले आफ्नो राजनीतिक एजेन्डा नै एमसीसी बनाउने संकेत देखाएका छन् । विभिन्न ६ वटा राजनीतिक दल र मोर्चाहरु एकढिक्का भएर एमसीसी खारेजीको पक्षमा उभिएका छन ।

कांग्रेस एमसीसीको पक्षमा भए पनि पास नै नगर्ने कतिपयको विश्लेषण छ । राजनीतिक दलहरुले राष्ट्रिय स्वार्थका लागि नभई आफ्नो राजनीतिक स्वार्थका लागि भ्रमको राजनीति गरिरहेको विश्लेषकहरुको बुझाई छ । राजनीतिक दलहरु एमसीसी पास गर्ने वा अस्वीकार गर्ने विषय नागरिकलाई बुझाउने भन्दा भ्रममा राखेर आफ्नो चुनावी एजेन्डा बनाउने तर्खरमा रहेको कतिपयको धारण छ ।

एमसीसी सम्झौता भएको चार वर्ष वितिसक्दा पनि न त नेपालका प्रमुख राजनीतिक दलले प्रष्ट अभिव्यक्ति बनाउन सकेका छन नत जनतालाई बुझाउन सकेको छैन । राजनीतिक दलहरु राष्ट्रिय स्वार्थ भन्दा आफ्नो राजनीतिक स्वार्थ केन्द्रित बन्दा मुलुकको आन्तरिक राजनीति साथै बाह्य कुटनीतिमा पनि झन शिथिल बन्दै गएको छ ।