राजनीति

देउवालाई तर्साउने ताकत शेखरमा, के होला प्रकाशमान–निधिको भविष्य ? (भिडियोसहित)


काठमाडौँ — राजनीतिमा सबै राजनीतिकर्मी अंकगणितमा पहिलो भएरमात्रै नेता बन्दैनन् । पराजित भएर पनि कुनै राजनीतिकर्मी सशक्त नेता बनेर उभिन्छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट त्यस्तै एक परिचय बनाएका छन् डा. शेखर कोइरालाले ।पुस्तान्तरणको डंका बजाएर पछि शक्तिको पछि लागेका कतिपय नेताहरुका अगाडी कोइराला पराजयमा पनि राजनीतिक विजयमा रुपान्तरण भएका हुन् ।

राजाले प्रधानमन्त्री बनाउने प्रस्ताव गर्दा आफू नबनेर कृष्णप्रसाद भट्टराईलाई सिफारिस गरेका त्यागी नेता गणेशमान सिंहका पुत्र हुन् प्रकाशमान । १४ औं महाधिवेशन मात्रै होइन, १३ औं महाधिवेशन पछि नै शेरबहादुर देउवाबाट नेतृत्व खोस्न सबैभन्दा धेरै हतारो कसैलाई थियो भने त्यो प्रकाशमानलाई थियो । फलतः उनी १४ औं महाधिवेशनमा त्यही लक्ष्य, त्यही एजेन्डा बनाएर कार्यकर्ताबीचमा गए ।

उनीसहित संस्थापन इतरकाप्रमुख चार दाबेदार रामचन्द्र पौडेल, शशांक कोइराला र शेखर कोइरालाको पनि उद्देश्य यही थियो । एक भएर जान महाधिवेशनको मझधारसम्म उनीहरु सहमतिका लागि अन्तिमसम्म कसरतमाथिए । रामचन्द्रले सहमतिको बाधक नबन्ने नत्र आफैलाई छोड्नुपर्ने अडान कसे, शशांकले देउवालाई हराउने आफुमात्रै भएको जिद्धि गरे पनिपछि हट्न तयार भए । शेखरले सहमति हुँदैन भने रामचन्द्रलाई सभापति बनाएर पनि एक हुनुपर्ने बताए । तर प्रकाशमानआफूले कसैलाई नछाड्ने, सबैले आफूलाई छाड्नु पर्ने जिद्दी गरेपछि सहमति भंग भयो ।

अन्ततः शेखर र प्रकाशमान देउवाविरुद्ध चुनावी मैदानमै होमिए । मतको परिणाम अनुसार देउवा पहिलो, शेखर दोस्रो र प्रकाशमान तेस्रो भए । शेखर र प्रकाशमान र चौंथो भएका अर्का संस्थापक नेताका पुत्र विमलेन्द्र निधि मिलेको खण्डमा देउवालाई हराउने स्पष्ट मत देखियो । तर चार बर्षदेखि पुस्तान्तरणको नारा भजाएका प्रकाशमान र निधि जब देउवालाई हराउने साँच्चै मौका आयो, अपत्यारिलो सौदाबाजी गरेर पछिमात्रै हटेनन्, निर्लज्ज तरिकाले देउवासँगै काँध जोडेर उनको पक्षमा भोट मागे र देउवालाई जिताइदिए ।

केही समय अघिमात्रै शशांकले प्रकाशमानलाई भनेका थिए, उहाँलाई काठमाडौं बाहिरका नेता–कार्यकर्ताले चिन्दैनन् भनेर । जसका कारण उनले माफीसमेत माग्नु परेको थियो । तर १४ औं महाधिवेशनपछि काठमाडौंमा पनि प्रकाशमानलाई नचिन्नेहरु छन् भन्ने पुष्टि उनले ल्याएको मतले गरेको छ । किनकि ४ हजार ६ सय ७९ मतमध्ये मात्र ३७१ मत मात्रै प्रकाशमानका पक्षमा खसेको थियो । बरु सभापतिमा पराजित भएर पनि शेखर अब संस्थापन इतरको निर्विकल्प नेताका रुपमा स्थापित भएका छन् ।देउवा, सिटौला, सिंह र निधि एक ठाउँमा उभिएर पनि युवाहरूलाई साथमा लिएका शेखर४० प्रतिशत मत ल्याउन सफल भएका छन् । जुन सायदै कसैले सोचेका थिए ।

अघिल्लो महाधिवेशनबाट देउवा सभापति निर्वाचित भएपछि बितेको पाँच वर्ष ‘कोइराला पक्ष’ भन्ने शब्दावलीको प्रयोग लगभग हराएको थियो । १४ औं महाधिवेशनमा झनै तीन कोइराला तीर बने । तर महाधिवेशनमा सभापति जिताउने नेताहरुले होइन, जिल्ला–जिल्लाबाट आउने महाधिवेशन प्रतिनिधिले हो भन्ने बुझेका शेखर १३ औं महाधिवेशनपछि उनी ७७ वटै जिल्लामा पुगे ।

कुनै जिल्लामा दोहा¥याएर, तेह्याएर पुगे । जसले तल कार्यकर्तामाझ उनको स्वीकार्यता बढ्यो र महाधिवेशनमा ठुला ६ नेता एकातिर हुँदा पनि ४० प्रतिशत बढी मत ल्याउन सफल भएका हुन् ।अहिले उनको लोकप्रियताका अघि अन्य सभापतिका प्रत्यासी डाहा मात्रै गरिरहेका छैनन्, तर्सिन थालेका छन् ।अब काँग्रेसभित्र देउवाको खरो प्रतिपक्ष कोही छ भने उशेखर नै हो भन्ने मान्यतामात्रै होइन,कुनै हारले सशक्त नेता जन्माउँछ भन्ने दृष्टान्तसमेत स्थापित गर्ने देखिन्छ ।