राजनीति

शेखर र गगनको गर्जन : प्रकाशमानलाई काउन्टर, देउवालाई चेतावनी, शशांकले कसलाई मत दिए ? (भिडियोसहित)


काठमाडौँ — नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा डा. शेखर कोइरालालाई पराजित गर्दै शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका छन् । तर पराजित कोइराला समूहले नेतृत्वमाथि दबाब र संघर्ष चर्काउने सन्देश दिएको छ ।

नेतृत्व परिवर्तनको एजेन्डा लिएर प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध उभिएका डा. शेखर कोइरालाले सम्मानजनक मत ल्याएर हार खाए । पहिलो चरणमा दोस्रो भएका उनी दोस्राचरणमा देउवालाई पराजित गर्ने लक्ष्यमा थिए । तर दुई हजार ७ सय ३३ मतसहित देउवा निर्वाचित हुँदा एक हजार ८ सय ५५ मत ल्याएर शेखर आफै पराजित हुन बाध्य बने ।

निर्वाचनको परिणामलाई स्वीकारे पनि यो पक्ष देउवाबाट नेतृत्व खोस्ने निर्णायक प्रतिस्पर्धामैपौडेल पक्षमध्येकोएक प्रकाशमान सिंह समूहले अन्तिम समयमा धोका दिएपछि आक्रोशित बनेको छ ।तर देउवा, सिटौला, सिंह रनिधि एकातिर उभिँदा पनि टक्करको मत ल्याएपछि भने यो समूहले आफ्नो सफलताका रुपमा विश्लेषण गरिरहेको छ । यसलाई सभापतिका उम्मेद्वार शेखर कोइरालाले आफ्नो विचारको जित भएको भन्दै नयाँ ढंगले यात्रा थाल्ने उद्घोष गरेका छन् ।

साझा उम्मेद्वार बनाएर जाने विषयमा लामो रस्साकस्सी चलेपनि निर्वाचनको माझदारमै समूह फुटेपछि शेखर र प्रकाशमानले आ–आफ्नो प्यानल बनाएर उम्मेद्वारी दिएका थिए । रामचन्द्र पौडेल भोट हाल्नै गएनन्, न त कसैको पक्षमा भोट नै मागे, शशांकले कसलाई मत हाले रहस्यमय जस्तै छ ।संस्थापनइतर पक्षका रुपमा शेखरमात्रै बाँकी रहेपछि जित्ने चुनाव पनि हारिएको यो समूहको दाबी छ ।तथापी यो समूहले नेतृत्वमाथि दबाव र संघर्ष थप चर्काउने सन्देश दिएको छ ।

नेतृत्व पुस्तान्तरणको एउटै मुद्दा उठाएर महाधिवेशनमा होमिएकाहरु नै अन्तिममा एक ठाउँमा उभिन सकेनन् ।समूहभित्र मतभेद रहेपनि देउवाको विकल्प खोज्ने मामिलामा एक हुने विश्वास शेखर समूहको थियो । तर लगालग १३ औं महाधिवेशनपछि नै देउवाको विकल्प खोज्नलागिपरेका प्रकाशमान सिंह नै आफ्नै मुद्दालाई तिलाञ्जली दिएर देउवासँग हात मिलाएपछि यो समूहले भेडाको संज्ञा दिएको छ ।

कुनैबेला गणेशमान सिंहले काठमाडौंका जनतालाई भेडाको उपमा दिएका थिए । रुपान्तरणको बारेमा सोच्नै नसक्ने र यथास्थितिमा रमाउन चाहने जनताको स्वभावलाई उनले भेडाको संज्ञा दिएका हुन् । त्यही रुपान्तरणकै सवालमा गणेशमान जस्ता त्यागी नेताका पुत्र प्रकाशमान विपक्षमा उभिएपछि यो समूहले त्यही शब्दावलीमार्फत काउन्टर दिन खोजेको हो ।तथापी शेखर र गगन जस्ता नेताहरु पार्टीको प्रतिपक्षमा रहने भएपछि देउवालाई थप चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।