देश

बसन्त चौधरीले पाए भारतको प्रतिष्ठित केएलएफ अवार्ड


काठमाडौँ – भारतको बहुचर्चित कलिङ लिटररी फेस्टिबलमा नेपालका चर्चित कवि बसन्त चौधरीको कृतिले ‘पोएट्री बुक अफ दी इयर’ को अवार्ड पाएको छ । वर्ष २०२०–२१ का लागि ‘केएलएफ पोएट्री बुक अफ दी इयर’ को अवार्ड चौधरीको हिन्दी कविता संग्रह ‘अनेक पल औ मैं’ ले पाएको हो। वाणी प्रकाशनबाट प्रकाशित यो पुस्तक नेपाल, भारत र विश्वभरका हिन्दी भाषीमाझ निकै चर्चित छ ।

विभिन्न विधामा प्रकाशित उत्कृष्ट कृतिहरुका लागि प्रत्येक वर्ष केएलएफ बुक अवार्डस् वितरण गर्ने गरिन्छ । प्रत्येक वर्ष हिन्दी भाषामा प्रकाशित नन्फिक्सन, फिक्सन बुक, कविता संग्रह, हिन्दी बुक, बायोग्राफी, अटोबायोग्राफी, भाषा, पर्यावरण, बच्चाहरुसँग सम्बन्धित कृति, बिजिनेस बुक्स, लाइफ स्टाइल, इमर्जिङ ट्रेण्ड बुक्स, खेल तथा सामरिकलगायतका विषयमा लेखिएका पुस्तकहरुबाट उत्कृष्ट छानी अवार्ड घोषणा गर्ने गरिन्छ।

कलिंग लिटररी फेस्टिबल (केएलएफ) अन्तर्राष्ट्रिय स्तरमै चर्चित साहित्य महोत्सवसमेत हो, जुन प्रत्येक वर्ष भारतको ओडिसास्थित मन्दिरैमन्दिरहरुको सहरले चिनिने भुवनेश्वरमा आयोजना गर्ने गरिन्छ। यो वर्ष भुवनेश्वरको स्वस्ती प्रिमियम होटलमा आठौं कलिंग साहित्य महोत्सव आयोजना गरिएको हो ।

स्वतन्त्र अवार्ड छनोट समितिबाट छनोट भएका पुस्तकका सर्जकलाई डिसेम्बर १० देखि १२ सम्म आयोजित साहित्य उत्सवमा अवार्ड वितरण गरिएको हो । कलिंग लिटररी फेस्टिबलका संस्थापक तथा निर्देशक रश्मिरञ्जन परिदाका अनुसार यो पटकको महोत्सवमा नेपाल साझेदारी देशको रुपमा सहभागी थियो। महोत्सवमा नेपालका राजनीतिज्ञ तथा साहित्यकारहरुको समेत निकै ठूलो सहभागिता थियो ।

यो वर्षको महोत्सवको दौरान भारतबाहिर पहिलोपटक नेपालमा समेत कलिंग साहित्य महोत्सव गर्ने महत्वपूर्ण सम्झौतासमेत भएको परिदाले सो क्रममा जानकारी दिइन्। यस सम्बन्धमा ‘श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर’ सँग केएलएफको एक सम्झौतासमेत भएको छ। नेपालमा अब यो महोत्सव प्रत्येक वर्षको अप्रिल–मईमा आयोजना गरिन्छ ।

परिदाका अनुसार केएलएफ बुक अवार्डस् विभिन्न शैलीका साहित्यिक प्रतिभाहरुको पहिचान गर्न, उनीहरुलाई प्रोत्साहित गर्न र सम्मान गर्नका लागि अवसर प्रदान गर्ने माध्यम हो । पुरस्कारका लागि एक स्वतन्त्र निर्णायक मण्डलहरुले पुस्तकहरुको चयन गर्ने गर्छ । यस्तो मण्डलमा साहित्यकार, कलाकार तथा अन्य क्षेत्रका विद्वानहरुसमेत सहभागी हुने गर्छन् ।

उनले हिन्दी, अंग्रेजी, नेपाली, मैथिलीलगायतका भाषामा निरन्तर साहित्य सिर्जना गर्दै आएका छन् । उनले विशेष गरी गीत, गजल, कथा, निबन्ध जस्ता साहित्यिक विधामा कलम चलाउँदै आएका छन्। उनका दर्जनौं कृतिहरुसमेत प्रकाशित छन् भने उनीद्वारा लिखित दर्जनौं गीतहरु चर्चित र कालजयीसमेत छन्।