राजनीति

तीनै तहका सरकारको समन्वयमा विकास निर्माणका काम अघि बढाउँछौ : मन्त्री झाँक्री


काठमाडौँ – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा विकास निर्माणका कामहरु हुनुपर्ने बताउनुभएको छ । जनकपुरमा प्रदेश मेडिकल स्टोर र कोभिड १९ विरुद्धको खोप भण्डारण गृहको शिलान्यास तथा समुद्घाटन कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले तीनै तहको सहकार्यबाट मात्रै विकास निर्माणका काम प्रभावकारी हुने बताउनुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले भन्नुभयो, “नेपालको संघीयता विशिष्ट प्रकारको छ, तसर्थ, ३ वटै सरकार मिलेर नागरिकको जीवनस्तर उकास्ने र विकास निर्माणका कामहरु तीव्र रुपमा सञ्चालन गर्न लाग्नुपर्छ ।” उहाँले प्रदेश २ मा बस अड्डा निर्माणमा पहल गर्ने, महेन्द्रनारायण निधी सभाहल निर्माण गर्ने, प्रहरी प्रशासनको ब्यारेक निर्माण गर्ने पनि बताउनुभयो ।

त्यसैगरी कैदीबन्दीका लागि जेलको निर्माण, घरविहीनका लागि आवास र आवश्यक स्थानमा प्रदेश सरकारसँगको समन्वयमा काम अघि बढाउने पनि बताउनुभएको छ । साथै, उहाँले संविधानले निर्दिष्ट गरेका मौलिक हकको कार्यान्वयनमा आफूहरु प्रतिबद्ध रहेको पनि बताउनुभएको छ ।