काठमाडौँ — मलेसियाको जोहोरमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । २७ जना अझै पनि बेपत्ता रहेको अधिकारीले बुधबार जानकारी दिएका छन् ।
मृत्यु भएका र बेपत्ता भएका मध्ये अधिकांश इन्डोनेसियाली नागरिक रहेका छन्। मलेसियाको दक्षिणी क्षेत्रमा दुर्घटना भएको हो । अचानक खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ । बेपत्ता भएकाको खोजीका लागि उद्धारकर्ता परिचालन गरिएको छ। अवैध रूपमा सामुद्रिक मार्ग पार गरिरहेका वेला दुर्घटना भएको जनाइएको छ ।
यस क्षेत्रमा यस्ता दुर्घटना वेला वेलामा हुने गरेका छन् । दुर्घटनामा परेको डुङ्गामा ६० यात्रु रहेका थिए। घटनामा परी मृत्यु भएका मध्ये सातजना पुरुष र चारजना महिला रहेका छन् ।
उद्धारकर्ताहरूले २० पुरुष र दुई महिलालाई भने जीवितै उद्धार गरेका छन्। बेपत्ता भएकाहरू जीवितै भेटिने सम्भावना कम रहेको खोजी तथा उद्धार कार्यमा संलग्नले बताएका छन् ।


प्रतिक्रिया