काठमाडौँ — प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाको चालु अधिवेशनबाट नै प्रदेशको नाम टुंगो लगाउने बताएका छन् । बुधबार बिहान सरकारी निवासमा सरेपछि मुख्यमन्त्री राईले सञ्चारकर्मीसँगको कुराकानीमा चालु अधिवेशनबाट नै प्रदेशको नाम टुंग्याउने बताए ।
मुख्यमन्त्री राईले चाँडै मन्त्रिपरिषद बिस्तार गर्ने बताए । मन्त्रिपरिषद बिस्तारपछि मात्रै संसद्को बैठक बोलाउने समेत बताए । ‘नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र०का नेताहरू अधिवेशनमा व्यस्त भए‚’ राईले भने, ‘दलका नेताहरू फर्किएपछि मन्त्रिपरिषद् विस्तार गर्ने र संसद् बैठक बस्ने छौँ।’
कात्तिक १५ गते मुख्यमन्त्री नियुक्त भएका राई आज सुनसरी मोरङ सिँचाई आयोजनाको सरकारी भवनमा सरेका छन् । नियुक्तिको दुई दिन होटलमा बसेका मुख्यमन्त्री राई त्यसपछि राष्ट्र बैंक विराटनगरको गेष्ट हाउसमा बस्दै आएका थिए । खर्च कटौती गर्ने उद्देश्यले सरकारी निवसमा प्रवेश गरेको बताउँदै उनले अन्य मन्त्रीका लागि पनि सरकारी निवास व्यवस्था गर्ने प्रयास भइरहेको बताए । मुख्यमन्त्री राईले काठमाडौँमा रहेको सम्पर्क कार्यालय बन्द गरेको बताए ।
‘मासिक करिब ४ लाख खर्च लाग्ने व्यवस्था काठमाडौँमा खोलिएको सम्पर्क कार्यालयलाई नचलाउने भन्ने निर्णय छ, बन्द पनि भइसकेको छ,’ उनले भने, ‘हामी काठमाडौं जाँदा बस्नका लागि सरकारी भवन नै उपलब्ध छ हामी त्यसैमा रहन्छौं ।’
प्रतिक्रिया