राजनीति

ओलीले देशलाई अस्थिरता तर्फ धकेल्ने दुष्प्रयास गरेको पौडेलको भनाई


काठमाडौँ – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा एमालेले गरेको निरन्तर संसद् अवरोधले मुलुक अस्थिरतातर्फ जाने बताएका छन् । उनले एमालेले महिनौंदेखि संसद् अवरोध गरेर देशलाई अस्थिरता तर्फ धकेल्ने दुष्प्रयास गरेको बताएका हुन् ।

पौडेलले आफ्नो सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘६ महिनाको समयमा दुई–दुई पटक संसद् विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्‍याउने एमाले अध्यक्ष केपी शर्मा ओलीले महिनौं दिनदेखि संसद् अवरोध गरेर विघटन सहि थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरता तर्फ धकेल्ने दुस्प्रयास गर्दैछन्,’

उनले सदनलाई बीचैमा अन्त्य गरी ओलीको नियतसामू समर्पण गर्न नहुने पनि सुझाव दिएका छन् । ‘संसद् चलाउँछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद् सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरि अघि बढ्यो भने ओलीको नियतिका सामु समपर्ण गरेको ठहर्नेछ ।’

पौडेलले राष्ट्रलाई अनिश्चितता तर्फ धकेल्ने आपत्तिजनक क्रियाकलाप तर्फ सचेत रहन अपिलसमेत गर्नुभएको छ । ‘देशलाई प्रयोगै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र हो यो । समावेशी संसदीय प्रणालीनै सिध्याउन खोजिएको देखिन्छ,’ पौडेलले भने ।