राजनीति

कांग्रेसले रुचाएनन् नेतृत्व परिवर्तन, सभापतिमा पुन: देउवा नै निर्वाचित


काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा विजयी हुनुभएको छ । आज बिहान सकिएको दोस्रो चरणको मतपरिणाम अनुसार देउवा २७ सय ३३ मत ल्याएर कांग्रेस सभापतिमा दोस्रोपटक निर्वाचित हुनुभएको हो । देउवाले निकटतम् प्रतिद्वन्द्वी डा. शेखर कोइरालालाई ८७८ मतले पराजित गर्नुभएको छ । कोइरालाले १८ सय ५५ मत ल्याउनुभयो ।

दोस्रो चरणको निर्वाचनमा सभापति पदमा ४६ सय २३ मत खसेको थियो । त्यसमध्ये ३५ मत बदर भएको थियो । पहिलो चरणको निर्वाचनमा कसैको बहुमत नआएपछि नतिजाका लागि दोस्रो चरणको निर्वाचन गरिएको थियो । दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई सहयोग गर्नुभएको थियो ।