राजनीति

एमालेका सांसदलाई धम्की नदिन सभामुखलाई ओलीको चेतावनी


काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले ऐन र नियमका दफा देखाएर आफ्ना पार्टीका सांसदहरूलाई धम्की नदिन सभामुख अग्नीप्रसाद सापकोटालाई चेतावनी दिएका छन् ।

मंगलबार संसदीय दलको बैठकमा बोल्दै दलका नेतासमेत रहेका ओलीले संसदमा एमाले सांसदहरूले विरोध जनाउँदा नियमावली आकर्षित हुन्छ भनेकोप्रति आपत्ति जनाएका हुन् । धम्की दिने जमाना गएको भन्दै नाङ्लो ठटाएर हात्ती तर्साउन नखोज्न उनलाई सभामुखलाई चेतावनी दिए ।

ओलीले भने, ‘फेयर गराउन हामी बाध्य गराउँछौँ । संसद पनि फेयरल्ली चलाउनुपर्छ । त्यसैले नियमावली आकर्षित हुन्छ रु संसदीय भाषा, नियमावली आकिर्षित हुन्छ, कहाँ कहाँ नियमावली आकर्षित हुन्छ ? त्यसो भनेर धम्की दिने जमाना थियो होला, अब नदिए हुन्छ । नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन । निकाल्छु भन्नेहरुलाई कारवाही गर्छु भन्नेहरूलाई, नियमावली आकर्षित हुन्छ भन्नेहरूलाई, म आवेग, उत्तेजनामा नआउन सुझाव दिन्छु । आवेग उत्तेजनामा नआउनुस् । परिणाम नराम्रो होला ।’