राजनीति

संघीय संसद्को दुबै बैठकमा एमालेको अवरोध कायमै, सरकार र सभामुखले संसद चलाउन नचाहेको आरोप (भिडियोसहित)


काठमाडौँ — करिव डेढ महिना पछि सुरु भएको संसद बैठकमा आज पनि एमालेका सांसदले अवरोध गरे । अवरोधका बीच संसदका दुवै सदनमा विभिन्न अध्यादेश पेस भएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध गरे पछि कार्तिक १२ गते स्थगित भएको संघिय संसदको दुवै सदनको बैंठक मंगलबार बस्यो । तर मंगलबार बसेको दुवै सदनको बैंठकमा पनि एमालेले अवरोघ कायमै राख्यो । बैठक सुरु हुने वित्तीकै एमालेका सांसदले विरोध जनाएका थिए ।

आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा अघिल्लो अधिवेशनमा संसद अवरुद्ध गरेको एमालेले मंगलबार शुरु भएको अधिवेशनको पहिलो बैठक पनि सोही विषयलाई लिएर अवरुद्ध गरेको हो । प्रतिनिधि सभाका एमाले सांसदले नारावाजी गरेका थिए भने राष्ट्रिय सभाका एमाले सांसदले उभिएर विरोध जनाएका थिए ।

एमाले सांसदहरुको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सञ्चालन गरेका थिए । यता राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले सरकारको असक्षमता र सभामुखको अकर्मण्यताका कारण देशको राजनीति गलत दिशामा अघि बढीरहेको आरोप लगाए । उनले सभामुखको अकर्मण्यताबाट संघीय संसद पनि प्रभावित रहेको र सही ढंगबाट चल्न नसकेको आरोप लगाए ।

राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँडको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले र प्रतिनिधि सभामा गृहमन्त्रीकै तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न अध्यादेश पेस गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक पुस ६ गते बस्ने छ भने राष्ट्रियसभाको अर्को बैठक आगामी पुस ५ बोलाइएको छ ।