राजनीति

हृदयेश त्रिपाठीले आज नयाँ पार्टी घोषणा गर्ने



काठमाण्डौँ – पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ दल दर्ता गर्ने भएका छन् । उनले पार्टीको नाम जनता प्रगतिशील पार्टी राखेका छन् । आज काठमाडौंमा एउटा कार्यक्रम गरेर उनले नयाँ पार्टी गठनको घोषणा गर्दैछन् ।

उनको पार्टीमा अर्का सांसद वृजेशकुमार गुप्ता पनि रहने बताइएको छ । २०७४ को संसदीय निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्हमा उम्मेदवार बनेका त्रिपाठी प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । गुप्ताले पनि एमालेकै सूर्य चिन्हमा कपिलवस्तुबाट चुनाव जितेका थिए ।


यी दुबै जना कानुनी रूपमा एमाले सांसद भए पनि उनीहरू पार्टीका गतिविधि सक्रिय थिएनन् । उनीहरूले स्वतन्त्र राजनीतिक समूह बनाएर काम गरिरहेका थिए ।

तत्कालनी तमलोपमा रहेका त्रिपाठीले २०७४ को चुनाव अगाडि सो पार्टी त्यागेका थिए । एमालेकै चुनाव चिन्हमा चुनाव जितेका त्रिपाठी एमालेमै सामेल हुने चर्चासमेत भएको थियो । तर, उनले आफ्नै नेतृत्वमा नयाँ दल स्थापना गर्न लागेका हुन् ।