राजनीति

शशांक सबैका साझा, देउवालाई शेखरकै डर


काठमाडौँ – आफ्नो पल्लाभारी बलियो बनाउन उम्मेद्वारहरु चुनाव मैदानमा रस्साकस्सी गरिरहेका छन् । कोही नेता मतदान प्रक्रियामै सहभागी भएका छैनन् । कुनै सबैको साझा उम्मेद्वार बन्न सफल भएका छन् । कस्तो छ त चुनावी रौनक र आगामी नेतृत्वको प्रक्षेपण ? नेपालीको कांग्रेसका तीनै समूहको साझा उम्मेद्वार छन् शशांक कोइराला । पौडेल पक्षबाट सभापतिको दाबी गरिरहेका उनी रामचन्द्र पौडेल, शेखर कोइराला र प्रकाशमान सिंहबीच सहमतिहुनुपर्ने भन्दै पछि हटेका थिए ।

अहिले उनको नाम शेरबहादुर देउवा नेतृत्वको संस्थापन प्यानल, शेखर नेतृत्वको प्यानल र प्रकाशमान नेतृत्वको प्यानल गरि तीनै प्यानलको सूचिमा छ । पौडेल पक्ष फुटेपछि कुनै गुटमा नरहेको बताउँदै आएका शशांकले शेखरलाई समर्थन गरेको दाबी गरिएको छ । तर तीनवटै समूहको तर्फबाट उनी साझा बन्न सफल भएका छन् । यसैकारण खुल्ला केन्द्रीय सदस्यतर्फ सर्वाधिक मत ल्याएर जित्ने सक्ने आँकलन छ । कोइराला परिवार रपौडेल पक्ष दुईधार बाँडिएका बेला शशांक सिंगो कांग्रेसका प्रतिनिधि जस्ता छन् ।

अहिले सभापतिको रेशबाट पछि हटेका उनी आगामी महाधिवेशनमा देउवासहितको समर्थनमा सुरक्षित बन्ने खोजेको कतिपयको बुझाई छ । शशांक सबैको साझा बन्दा संस्थापनइतरको नेतृत्व गरेका वरिष्ठ नेता पौडेल भने मतदान प्रक्रियामै सामेल भएनन् । शेखर र प्रकाशमानको अड्डीका अघि निरीह बनेका उनी कसैलाई भोट माग्नसमेत अघि आएनन् ।बरु देउवा र शेखर उनलाई फकाउन निवासमै पुगे । किनकि पौडेल सक्रिय नभएकै कारण तितरबितर बनेको पौडेल पक्षका मतदातामा विचलनको सम्भावना छ ।

यस्तो बेला पौडेलको मौनतामा देउवाले फाइदा उठाउन सक्छन् । तर प्रकाशमानसहित अन्य प्रत्यासीले पौडेलप्रति चासो देखाएनन् । यद्यपी मतदान प्रक्रिया चलिरहेका बेला प्रतिनिधिको मन जित्न सम्भव सबै कसरत गरिरहेका छन् । विश्वप्रकाशलाई महामन्त्री दिएर हौसिएका प्रकाशमान दोस्रो हुने कोशिसमा रहेपनि कांग्रेसीहरु नै उनी तेस्रोसम्म आउन सक्ने आँकलन गरिरहेका छन् । उनको भन्दा लोभलाग्दाके्रज बरु विश्वप्रकाशका लागि देखिएको छ । यता देउवालेमहाधिवेशन प्रतिनिधिकै बीचमा गएर मत मागे ।

उल्लासमय समर्थन पाएका उनी आफु पहिलो चरणमै जित्ने विश्वास गरिहेका छन् ।देउवाका लागि कृष्णप्रसाद सिटौलासमेत मैदानमा उत्रिएर मत माग्न लागिपरेका छन् । बर्षभरि सभापतिको स्वभाविक आकंक्षी रुपमा आफुलाई प्रस्तुत गरेका सिटौला देउवालाई मत माग्नेबाहेक आफैले अघि सारेका प्रदीप पौडेललाई महामन्त्रीमा जिताउनुछ । सुरुवाती चरणमै आफुलाई कमजोर प्रतिस्पर्धी स्वीकारीसकेका बिमलेन्द्र निधि चुनावलाई दोस्रो चरणमा पु¥याएर देउवालाई हराउनु लक्ष्य बनाएका छन् । यद्यपी अबको नेतृत्व महाधिवेशन प्रतिनिधिकै विवेकमा भर परेको छ ।

अर्का उम्मेद्वार शेखर कोइराला पनि मतदानस्थलमा बाक्लो समर्थन र प्रतिनिधिको आश्वासन पाएपछि आफु नै जित्ने दाबी गरिरहेका छन ।पुस्तान्तरणको चर्चा गर्दै भोट मागिरहेका उनीलाई भ्याई नभ्याई देखिन्थ्यो ।यद्यपी कोइराला परिवारकै शशांक र सुजाता खुलमखुल्ला साथ नपाएका उनीलाई पहिलो चरणबाटै आउट गर्न लागिपरेको छ । किनकि देउवालाई टक्कर दिन सक्ने शेखरकै माहोल बनेको छ । फलतः पुस्तान्तरको एजेण्डा बोकेका शेखर कोइराला र सरकार र पार्टी सत्ताको निरन्तर चाहेका देउवाबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ ।