राजनीति

कि सदन कि सभामुख मुडमा एमाले : मंगलबारको संसद बैठक कति सम्भव


काठमाडाैँ – यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण लगातार अवरुद्ध भएपछि अन्त्य भएको संसद अधिवेशन भोलिबाट सुरु हुँदैछ । मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्ष दल एमालले पुन अवरोध गर्ने भएको छ । गत भदौ २३ गतेदेखि सुरु भएको संघीय संसद् बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको निरन्तरको अवरोधपछि असोज १२ गते अन्त्य गरिएको थियो ।

केहि समयको स्थगनपछि मंसिर १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पुन मंसिर २८ गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरे अनुसार मंगलबार २ बजे संसद वैठक बोलाइएको छ । मंगलबार सुरु हुने संसद अधिवेशनका लागि सभामुख अग्नि प्रसाद सापकोटाले संसद भवन नयाँ बानेश्वर पुगेर संसद सचिवालयको तयारीको अवलोकन गरेका छन् । प्राविधिक तयारी, सिट व्यवस्थापन सहित बैठकमा उपस्थित हुने सांसदहरु र कर्मचारी लगायतको एन्टीजेन परिक्षण समेत भइसकेको छ ।

संसद बैठकका लागि सम्पूर्ण तयारी पूरा गरेको संघीय संसद सचिवालयले जनाएको छ । यता सत्तापक्ष जसरी पनि सदन अगाढि बढाउनु पर्ने अडानमा छ । संसदको औचित्य छैन भन्नेहरुलाई मलजल पु¥याउने काम एमालेले गरिरहेको सत्तारुढ दलका नेताहरुको तर्क छ । सरकारको मुख्य घटक भएकाहरुले संसद सुचारु गर्ने सवालमा नेतृत्वले प्रयत्न गर्नुपर्ने उनीहरुको भनाई छ । प्रक्रियागत रुपमा जसरी पनि संसद अघि बढ्ने उनीहरुको दावी छ । संसदलाई बन्धक बनाउने प्रवृत्ति प्रतिगमनकारी भएको विश्लेषकहरुको तर्क छ । जसरी पनि संसद चल्न दिनुपर्ने उनीहरुको जोड छ ।

मंगलबार बोलाइएको संसद चल्नेमा शंका उस्तै छ । दलहरु पार्टीको आन्तरिक गतिविधिमा व्यस्त हुँदा प्रतिपक्ष र सत्तापक्षबीचको दुरी झन बढेको छ । गत भदौ १ मा एमालेले कारबाही सिफारिस गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले बचाएको आरोप एमालेका छ । यहि निहुमा भोलि पनि संसद् बैठक चल्न नदिने एकालेको तयारी छ ।

असंवैधानिक संसद् विघटनपछि अदालतको परमादेशमा पुनःस्थापित यसअघिका प्रतिनिधिसभाका सबै बैठक औचित्यहिन बनेका छन् । संसद शुरु हुन नपाउँदै संसद अवरोधमा उत्रिहाल्ने एमाले प्रवृत्ति अझ उग्र बन्ने निश्चित छ । सत्तापक्ष र प्रतिपक्षबीचका सहमति र संवाद भन्दा संवादहीनताको अवस्था छ । यसले संसद्बाट पारित गर्नुपर्ने कतिपय जनसरोकारका विषय अलपत्र परेका छन् ।