राजनीति

पहिलो चरणमै सभापतिमा विजयी बन्ने देउवाको दाबी, दोस्रो चरणमा मोर्चाबन्दी गर्ने इतरको तयारी


काठमाडौँ – नेपाली काँग्रेसका सभापतिका प्रत्यासीमध्ये संस्थापन पक्षले पहिलो चरणमै विजयी हुने दाबी गरेको छ भने इतरसमूहले दोस्रो चरणमा गठबन्धन गरेर नेतृत्व परिवर्तन गर्ने दाबी गर्न थालेका छन् । सभापतिको लागि दोस्रो चरणको मतदान हुने नहुने निश्चित नभए पनि नेताहरुको ध्यान भने त्यसतर्फ केन्द्रीत देखिन्छ । नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको सभापतिमा पहिलो चरणमै विजयी दाबी गर्छन् ।

मतदानपछि भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता खाँडले पार्टी सभापतिमा प्रधानमन्त्री देउवा पहिलो चरणको मतदानमै विजयी हुने बताए । उनले आफ्नो उम्मेदवारी महामन्त्रीमा दिँदा पार्टी सभापतिलाई टिम समायोजन गर्न कठिन भएकोले केन्द्रिय सदस्यमै सिमित रहेको समेत बताए । नेता खाँडले पार्टीको एकता र सशक्तीकरणका लागि आफू सदैव एक कदम पछि हटेर सहयोग गरिरहेको भन्दै प्रधानमन्त्रीलाई साथ दिनु आफ्नो दायित्व भएको बताए ।

त्यस्तै नेपाली काँग्रेसका नेता शशांक कोईरालाले आफू जहिल्यै काँग्रेसलाई एकवद्ध भएर जानुपर्छ भन्ने सोचाइका साथ अघि बढेको भन्दै कुनै पक्ष र कुनै विपक्ष भनेर अघि नबढ्ने बताए । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले हाल भइरहेको नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठ्नु परेको बताए । उनले पार्टी सभापति देउवाले समयमै महाधिवेशन नगराएको, क्रियाशील सदस्यतामा ढिलासुस्ती गरेको र पार्टीको विधानमा मनपर्दी गरेको कारण यस्तो अवस्था सिर्जना भएको बताउनु भयो ।

संस्थापनइतरका नेताहरु पहिलो चरणमा कुनैपनि उम्मेद्वारले ५० प्रतिशत नकटाउने आँकलनको साथ दोस्रो चरणको मतदानको तयारीमा जुटेका छन् । दोस्रो चरणमा देउवाबाहेकका उम्मेद्वार एक हुने सम्भावना रहेकोले पहिलो चरणमा सभापति नचुनिए काँग्रेसको नेतृत्व परिवर्तन हुने सम्भावना प्रवल देखिन्छ ।