राजनीति

आफ्नो भूमिका निष्पक्ष रहेको सभामुख सापकोटाको दावी


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले संसदको प्रभावकारीताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताउनुभएको छ । आज नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गर्दै सभामुख सापकोटाले भोली देखि सुरु हुने संसदको हिउँदे अधिवेशनको प्रभावकारीताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताउनुभयो । उहाँले सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेकाले आफूले सबैसँग छलफल गर्दै अघि बढ्ने बताउनुभयो ।

संसदमा रहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरुसँग छलफल गर्ने र आवश्यकता अनुसार सर्वदलीय बैठक राख्ने पनि उहाँले बताउनुभयो । उहाँले आफूले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर तटस्थ र निष्पक्ष भूमिका निर्वाह गरिरहेको पनि बताउनुभयो ।