राजनीति

नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु


काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको छ ।

निर्धारित समय भन्दा साढे ३ घण्टा ढिलो गरि मतदान सुरु भएको हो । १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्यका लागि नेताहरू चुनावी मैदानमा होमिएका छन् । सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइाराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरूङ प्रतिष्पर्धामा हुनुहुन्छ । भृकुटीमण्डप, नेपाल पुलिस क्लव र राष्ट्रिय सभा गृहमा मतदान भइरहेको छ ।

मत खसाल्न एक हजार एक सय बुथ राखिएको छ । महाधिवेशनमा ४७ सय ४३ जना प्रतिनिधि छन् । २९ मतपत्रमा मत दिनुपर्ने भएकोले एक महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न करिब ४५ मिनेटसम्म लाग्छ । मतदान सकिएपछि सुरुमा सभापति पदका लागि गणना सुरू हुनेछ । उपसभापतिलगायत अन्य पदका लागि भने मतबाकस पार्टी केन्द्रीय कार्यालय सानेपामा लगेर शिलबन्दी गरेर राख्ने कांग्रेसको तयारी छ ।

सभापति पदको मतपरिणाम आइसकेपछि कुनै उम्मेदवारले ५० प्रतिशत मत कटाएमा मात्रै अरू पदका लागि भएको मतदानको गणना सुरू हुनेछ । कसैले पनि ५० प्रतिशत मत नकटाएमा सभापति पदमा फेरि मतदान हुने विधानको व्यवस्था छ ।