राजनीति

रामचन्द्र भेट्न शेखर बोहराटार पुगे, पौडेलले दिए जीतको शुभकामना


काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ । कोइरालाले सोमबार बिहान पौडेलनिवास बोहराटारमै पुगेर उहाँसँग भेट गर्नुभएको हो ।

भेटका अवसरमा पौडेलले शेखरलाई जितको शुभकामना दिनुभएको छ । सचिवालयका अनुसार सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवा समूहले रामचन्द्र पौडेलले आफूलाई सघाउने भनी प्रचार गरेकोप्रति संकेत गर्दै पौडेलले आफ्नो शुभेक्षा कोइरालालाई नै रहेको बताउनुभएको थियो ।

भेटमा पौडेलले संस्थापन इत्तर एक हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयोे । पौडेलले प्रतिस्पर्धाबाट आफू बाहिरिएपनि आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पधाको आदर्श र मूल्यलाई जोगाउन आग्रह समेत गर्नुभयो । निर्वाचन प्रक्रियामा भाग नलिएपनि सभापतिका उम्मेदवार डा. कोइरालालाई आफ्नो समर्थन रहने उहाँले प्रष्ट पार्नुभयो ।

वरिष्ठ नेता पौडेलले मतदानमा भाग नलिने निर्णय गरिसक्नुभएको छ । सभापतिमा शेरबहादुर देउवा, डा. कोइराला, सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले प्रतिस्पर्धा गर्दैछन् ।