खेलकुद

नर्विचमाथि युनाईटेडको संघर्षपूर्ण जित


काठमाडौँ – म्यानचेष्टर युनाईटेडले इङ्लिस प्रिमियर लिगमा संघर्षपूर्ण जित हासिल गरेको छ । गएराति भएको खेलमा युनाईटेडले नर्विच सिटीलाई १–० ले पराजित गर्न सफल भयो ।

युनाईटेडलाई जित दिलाउने क्रममा रोनाल्डोले गोल गरेका थिए । खेलको ७५ औं मिनेटमा रोनाल्डोल पेनाल्टीमार्फत गोल गर्दै युनाईटेडको जित सुनिश्चित गरेको हो । नर्विचका म्याक्स आरोन्सले रोनाल्डोलाई फाउल गरेपछि युनाइटेडले पेनाल्टी अवसर पाएको थियो । जितसँगै युनाइटेड लिगका पाँचौं स्थानमा उक्लिएको छ । युनाइटेडले १६ खेलबाट २७ अंक जोडेको छ । जुन चौथो स्थानको वेष्ट ह्यामसँग बराबरी हो भने छैटौं स्थानको आर्सनल भन्दा एक अंकले माथि हो । तथापि, वेष्ट ह्यामले एक खेल कम खेलेको छ ।

युनाइटेडका प्रशिक्षक राल्फ राङ्कनिकको यो लिगमा लगातार दोस्रो जित हो । यसअघि युनाइटेडले क्रिष्टल प्यालेसलाई पनि १–० ले हराएको थियो । ओले गनर सोल्सायर बर्खास्त भएपछि युनाइटेडको अपराजित यात्रा ६ खेलसम्म लम्बिएको छ । युनाइटेड २० नोभेम्बरमा वाटफोर्डसँग ४–१ ले पराजित भएपछि हारेको छैन ।

लिगको सबैभन्दा कमजोर टिम आँकलन गरिएको नर्विचले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । पराजित नर्विच सिटी १० अंकका साथ लिगको पुछारमा छ ।