समाचार

चार महिनामा शेयर लगानीकर्ताले गुमाए १० खर्ब, राज्यको पनि गुम्यो अर्बौ



काठमाडाैँ – केन्द्रीय बैंकले मौद्रीक नीति ल्याए देखि नै नेपालको शेयर बजारमा निरन्तर गिरावट आइरहेको छ । चार महिनामा बजार मापक नेप्से सुचक ७७० अंकले घटेको छ भने लगानिकर्ताले करिव १० खर्बले गुमाएका छन् । लगानीकर्ताले मात्रै होईन राज्यले अर्बौ गुमाउन पुगेको छ । चालु आर्थिक वर्षको चार महिनामा सरकारले शेयर बजारबाट ७ अर्ब रुपैयाँ बराबरको राजश्व उठाएको छ । साउन महिनादेखि कात्तिक महिनासम्म शेयर बजारबाट सो बराबरको राजश्व उठाएको सिडीएससीले जनाएको छ ।

सकारले शेयर बजारबाट साउनमा ३ अर्ब २४ करोड, भदौ महिनामा २ अर्ब ६१ करोड, असोजमा ५५ करोड र कात्तिकमा ५९ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । साउन महिनामा इन्डेक्स ३१ सयभन्दा माथिसम्म पुगेको थियो । भदौ लागेपछि शेयर बजारमा उतार चढाव हुन थाल्यो जसले गर्दा भदौसम्म आउँदा राजस्वमा नै ६३ करोड रुपैयाँले घट्यो । असोज र कात्तिक महिनामा राजश्व झन् धेरै घटेको छ । शेयर बजार घटेसँगै पूँजीगत लाभकर पनि घटेपछि राजश्व संकलनमा त्यसको प्रत्यक्ष असर परेको छ ।

त्यस्तै, चार महिनामा शेयरबजार ७७०.३६ अंकले घटेको छ । भदौ २ गते हालसम्मकै उच्च ३ हजार २ सय २० दशमलव ३३ बिन्दुमा पुगेको शेयर बजार मंसिर महिनाको २३ गतेसम्म आइपुग्दा २ हजार ४ सय ४९ दशमलव ९७ बिन्दुमा झरेको छ । लगानीकर्ताहरु भने बजार घट्नुमा सरकारका नीति नै बाधक भएको बताउँछन् । बजारको इन्डेक्स उच्च विन्दुमा पुेगेको बेलामा शेयर बजारको पुँजीकरण ४४ अर्बभन्दा माथि रहेको थियो । यो हप्ताको अन्तिम दिन विहीबारसम्म आइपुग्दा बजारमा १० खर्बभन्दा बढीले बजार पुँजीकरण घटेको छ ।

बजारका लगानीकर्ताको सम्पत्ति योबीचमा १० खर्ब रुपैयाँ कम भएसकेको छ । असोज महिनादेखि शेयर बजार तीव्र रुपमा गिरावट आउन थालेपछि लगानीकर्ताहरुले राजनीतिक दलका नेताहरुलाई सामाजिक संञ्जाल मार्फत ‘नो भोट’को अभियान चलाएका छन् । यसअघि पनि लगानीकर्ताहरुले शेयर धितो कर्जा ४÷१२ को नीतिलाई संशोधन गर्नुपर्ने माग राख्दै आन्दोलन गरेका थिए । राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत पनि मार्जिन लोन ४÷१२ को नीतिलाई सम्बोधन नगरेपछि शेयर बजार झन् ओरालो लागेको छ ।

अहिले अर्थतन्त्र सुस्त गतिमा चलिरहेको छ । खासै उत्साहप्रद कुनै घटना परिघटना देखिएका छैनन् । विशेषत बैकिंङ क्षेत्रमा देखिएको कर्जा प्रवाह गर्न नसक्ने समस्याले गर्दा बैकिंङ क्षेत्र नै तहसनहसको अवस्थामा पुगेको छ । केही समय अघि कर्जा लिईदिनु पर्यो भन्दै सम्भावित ऋणीहरुकोमा धाउने बैकहरुमा अहिले स्वीकृत भएको ऋण पनि प्रवाह गर्न नसकेर आलटाल गर्नुपर्ने अवस्था आईरहेको छ । खासगरी केन्द्रिय बैकले केही महिना अघि कर्जा निक्षेप अनुपात गणना गर्ने विधि परिवर्तन गरे पश्चात यो समस्या आएको देखिन्छ । तर यो मात्र अहिलेको समस्याको कारण होइन ।

केन्द्रिय बैंकले पनि अर्थतन्त्रका विविध आयामहरुलाई हेरेर आफ्नो नीतिगत निर्णय गर्ने परिपाटी रहेको छ । बढ्दो आयात, सीमित रेमिट्यान्स आप्रवाह, सुस्त निर्यात आदि लगायतका विषयहरुलाई समष्टिगत रुपमा अध्ययन अनुसन्धान गरेर केन्द्रिय बैंकले अर्थतन्त्रलाई दिगो बनाउन विभिन्न निर्णयहरु गरेको बताउदै आएको छ । तर यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा देखिएर लगानीकर्ता र स्वयम सरकारले पनि खर्बौ रकम गुमाएको छ र यो क्रम तत्काल रोकिने देखिँदन ।