राजनीति

काँग्रेस महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु,सभापतिका उम्मेद्वार नै नीति र एजेण्डाविहिन


काठमाडौँ – नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा आजदेखि निर्वाचन प्रक्रियामा अघि बढेको छ । पदका आकंक्षीहरुले उम्मेद्वारी दिएसँगै अब चुनावमार्फत आगामी नेतृत्व चयन हुनेछ । तर नेतृत्वकै दाबी गरिरहेका नेताहरुमा एजेन्डाको खडेरी देखिन्छ । महाधिवेशनको उद्घाटनस्थलबाटै सभापति शेरबहादुर देउवाले पार्टीलाई एक नम्बर बनाउने जिम्मा आफ्नो भएको घोषणा गरे । गाउँदेखि केन्द्रसम्म काँग्रेसको सरकार हुन्छ, त्यो मेरो जिम्मा भो, भन्दै देउवाले आफुलाई पुनः सभापतिमा भोट हाल्न आग्रह गरे ।

१३औं महाधिवेशनमा सभापति निर्वाचित भएपछि नेपाली काँग्रेस देउवाको नेतृत्वमा गएको थियो । देउवाकै नेतृत्वमा गत निर्वाचन ब्यहोरेको काँग्रेस प्रत्यक्षतर्फ २३ सीटमा खुम्चियो । उनको नेतृत्वले यो अवधिमा न निर्वाचनमा राम्रो परिणाम ल्यायो, न खरो प्रतिपक्षको रुपमा उत्रिन सक्यो । बरु प्रतिपक्ष भएर समेत सरकारको सहयोगी जस्तै कमजोर भूमिका रहेपछि देउवामाथि सबैभन्दा धेरै प्रश्न काँग्रेसभित्रैबाट उठेको थियो । देउवाले १४ औं महाधिवेशनमा पुनः सभापतिको उम्मेद्वारी दिएका छन् ।

यसको औचित्य पुष्टि भने आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउने र केन्द्रदेखि गाउँसम्म काँग्रेसको सरकार बनाउने भनेर गर्न खोजेका छन् । देउवाका लागि एजेन्डा पनि यही र यही नै सभापति उठ्नुको औचित्य पुष्टाई भएको छ । सभापतिमा भिडिरहेका अन्य उम्मेद्वारको एजेन्डा के हो ? जवाफ देउवाको जस्तै विचारशून्य छ । बरु देउवालाई हराउनु नै संस्थापनइतर पक्षका अन्य उम्मेद्वारको एजेन्डा बनेको छ ।

वीपीको सिदान्त, गणेशमानको त्याग, गिरिजाको साहस र किसुनको निष्ठाको कै कारण कांग्रेस गन्न लायक पार्टी बनेको हो । आज भोली सिदान्त र निष्ठाको काँग्रेसमा हाहाकार नै परेको छ । निष्ठाले भन्दा पेशा, व्यवसाय र पैसाको बलमा ‘पार्टी कब्जा’ गर्नेतिर नेतृत्व अघि बढेको भन्दै उद्घाटन सत्रमै वरिष्ठ नेता रामचन्द्र पौडेलले कटाक्ष गरेका थिए । तर पदलोलुप्ताकै कारण आफ्नै अगाडि आफ्नै समूह दुई टुक्रा परेको टुलुटुली हेरेका पौडेल अब राजनीतिबाटै निष्क्रिय बन्ने अवस्थामा छन् । सभापतिकै दौडमा रहेका शशांक कोइराला उस्तै निराशाजन्य अवस्थामा पछि हटेका छन् ।

उद्घाटन सकिएर बन्दसत्रमार्फत नेतृत्व चयनमा महाधिवेशन अघि बढेका बेला काँग्रेस हाँक्न ६ नेताको उम्मेद्वारी परेको छ । वर्तमान सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य शेखर कोइराला, केन्द्रीय सदस्य कल्याण गुरुङ र अर्का नेता युवराज न्यौपानेले समेत सभापतिमा उम्मेद्वारी दिएका छन् । विचारशून्य बन्दै गएको काँग्रेसमा एजेन्डाकै हिसाबले प्रतिनिधिले भोट देलान् वा गुटगत प्यानलकै आधारमै उम्मेद्वारलाई जिताउलान् त्यो महाधिवेशन प्रतिनिधिको विवेकमा भर परेको छ ।