राजनीति

काँग्रेसमा आएको फेरबदल, पौडेल पक्ष तितरबितर हुँदा सभापतिमा ६ जनाको भिडन्त


काठमाडौँ – नेपाली काँग्रेसको आगामी नेतृत्वका लागि सभापतिमा ६ जनाको उम्मेद्वारी परेको छ । सभापतिकै उम्मेद्वारी घोषणा गरेका नेताहरुले प्यानल बनाएरै आफ्नो टीम खडा गरेका छन् । तर अन्तिम समयमा भएको फेरबदलले काँग्रेस भित्रको समीकरणलाई थप रोचक बनाएको छ । नेपाली काँग्रेसको आगामी नेतृत्वका लागि सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाबीचको समीकरण बनेपछि शनिबार बिहानैदेखि काँग्रेसभित्र खैला बैला मच्चिएको थियो ।

महामन्त्री र सहमहामन्त्री जस्ता पदमा च्याँखे थापेर बसेका सिटौलाको चाँबी देउवाको हातमा पुगेपछि संस्थापन पक्षका वरिष्ठहरु पछी पर्दै सिटौला तिरका कनिष्ट अघि अघि आए । जसले संस्थापनभित्रै तीव्र असन्तुष्ट जन्मियो । देउवाको टीममा महामन्त्रीका लागि प्रकाशशरण महत, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की,एनपी साउद र विश्वप्रकाश शर्मा जस्ता नेताहरु अघि सरेका थिए । तर सिटौलासहितको समीकरणपछि प्रदीप पौडेल र प्रकाशशरण महतलाई महामन्त्री भाग लाग्दा विश्वप्रकाश शर्मा संस्थापन पक्षबाटै बाहिरीए ।

यसअघि नै उम्मेद्वारी घोषणा गरेका र अन्तिमसम्म देउवाको बाटो पर्खिएर बसेका शर्माले संस्थापनमा खोजेको स्थान नपाएपछि शेखर कोइरालासँगको समीकरणमा जाने चर्चा चल्यो । तर यो टीमबाट पनि गगनथापा र मिनेन्द्र रिजालजस्ता नेताले महामन्त्रीमा अडान नछोडेपछि अन्ततः शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेद्वारी बनेका छन् । बिहानसम्म खैलाबैलामात्रै भएको काँग्रेस समीकरण बेलुकासम्म आइपुग्दा कोर्ष परिवर्तनको तहमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको संस्थापनइतर पक्ष फुटेर दुई टुक्रा परेको छ । सभापतिका दुई दाबेदार प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमति नभएपछि दुबैले उम्मेद्वारी दर्ता गराएका छन् ।

देउवाविरुद्ध सहमतिका साथ एक उम्मेद्वार लिएर जाने घोषणा गरेका रामचन्द्र पौडेल भने राजनीतिको उत्तरार्धमा आएर आफ्नै टीम दुई टुक्रा परेको हेरिरहेका छन् । र कुनै पनि पदमा नरहने घोषणा गर्दै राजनीतिबाट किनारा लागेका छन् । तथापी उनको समर्थन शेखर कोइरालामाथि रहेको छ । उनीसँगै अर्जुननरसिंह केसी, रामशरणमहत र बलबहादुर केसी जस्ताका नेताहरु समेत पछी हटेकाछन् । यसअघि समूह मिलाउन भारी भूमिका खेलेकाउनीहरु उपसभापतिको आकंक्षा देखाइ रहेका थिए । तर अहिले केन्द्रीय सदस्यमा खुम्चिएका छन् । यस्तै १३औं महाधिवेशनबाट तेस्रोधार जन्माएका सिटौलाले सभापतिको उम्मेद्वारी दिने आट गर्न सकेनन् । बरु गुट बचाएरै भागखान उद्दत देखिए ।

संस्थापन पक्षबाट चर्चा चलेका एनपी साउद, रमेश लेखक, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की जस्ता नेता देउवा टीम बलियो बनाउन भूमिका खेले पनि केन्द्रीय सदस्यमै चित्त बुझाउन पुगे । संस्थापनमा विद्रोह गरेर उम्मेद्वारी दिने आट उनीहरुले गर्न सकेनन् । संस्थापन पक्षबाट विद्रोह गर्दै सभापतिमा उम्मेद्वारी दिएका विमलेन्द्र निधिले दोस्रो तहका नेताहरु नै नपाएपछि एक्लै उम्मेद्वारी दर्ता गराएका छन् । उस्तै उम्मेद्वारी कल्याण गुरुङ र युवराज न्यौपाने नाम गरेका नेताले समेत सभापतिमै दर्ता गराएका छन् ।

पौडेल पक्ष फुटेपछि उपसभापति र महामन्त्रीमा आकंक्षी देखाइरहेका नेताहरुले सहज रुपमा भाग पाएका छन् । शेखरको टीमबाट धनराज गुरुङ र डा.चन्द्र भण्डारीले उपसभापतिमा उम्मेद्वारी दिएका छन् । प्रकाशमानको टीमबाट एक उपसभापतिमा सुजाता कोइराला र एक महामन्त्रीमा विश्वप्रकाश शर्माबाहेक अन्य पदाधिकारी टुंगिएको छैन । तथापी विधानमा सभापतिबाहेक पदाधिकारी पदका लागि पचास प्रतिशतमाथि पु¥याउन नपर्ने सुविधाले देउवा पक्ष उनीहरुमाथि स्वतः हाबी हुने देखिन्छ ।

सभापतिको टुंगो दोस्रो चरणमामात्रै लाग्ने निष्कर्ष निकालेपछि पौडल पक्ष फुटाएका शेखर र प्रकाशमानलाई सभापतिमा भिड्न सजिलो भएको हो । देउवासँग भन्दा पनि यी दुईबीचको को दोस्रो हुने प्रतिस्पर्धा छ । जसमा रामचन्द्र पौडेल र शशांक कोइरालाको भूमिका निर्णायक रहनेछ । तर देउवा विकल्प खोज्ने दाबी गरेका प्रकाशमान र शेखरलाई उम्मेद्वारी फिर्ता लिइ सिंगो पौडेल पक्ष जोगाउने अवसर आइतबारसम्म भएपनि सम्भावना झिनो छ । चट्टानीअडान लिएर उम्मेद्वारी दिएका दुवै पछी हट्ने सम्भावना छैन । उनीहरुको विभाजनसँगै पौडेल पक्षको मतसमेत बाँडिएको छ, जसको प्रत्यक्ष फाइदा देउवा नेतृत्वको संस्थापनटीमलाई पुग्नेछ ।