राजनीति

जनताको चासो महाधिवेशनसँगै ओली, प्रचण्ड र नेपालतिर


काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि राजधानीस्थित भृकुटीमण्डपमा सुरु हुँदैछ । नेपाली राजनीतिमा सधै केन्द्रमा नै रहने पार्टीको महाधिवेशन चर्चा त त्यसै नै हुने भयो । तर, कांग्रेसको महाधिवेशनको चर्चासँगै नेपालका कम्युनिष्ट पार्टीहरुको शीर्ष तीन नेताहरुले मञ्चमा उपस्थित भएर उद्घाटन सत्रलाई सम्बोधन गर्छ वा गर्दैन भन्ने विषयमा पनि सबैको चासो रहेको देखिएको छ । कम्युनिष्ट पार्टीका नेताहरु एउटै मञ्चमा उपस्थित हुनु सामान्य नै भए पनि पछिल्लो समयमा ती नेताहरुले एक अर्काप्रति गरेका कटाक्षका कारण उनीहरुको एकै ठाउँमा उपस्थिति हुनुमा सबैको चासो बढेको हो ।

महधिवेशनमा भारतका सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र कांग्रेस आई का प्रतिनिधिसमेत सहभागी जनाउने पक्का भइसकेको छ । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी हुने निश्चित छ । तर, एमालेका अध्यक्ष केपी शर्मा ओली महाधिवेशनमा सहभागी हुन्छन् वा हुँदैनन् अहिलेसम्म टुंगो लागेको छैन । कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतलाई महाधिवेशनमा आउने वाचा गरिसकेका ओलीको स्वास्थ्यमा एक्कासी समस्या आएपछि उनी सहभागी हुने कि नहुने भन्ने टुंगो लाग्न नसकेको हो । अस्वस्थतकै कारण हिजो प्रेस चौतारीको पूर्व निर्धारित कार्यक्रममा पनि ओली अनुपस्थित रहे ।

तीन वर्ष सहकार्य गरेर पार्टी सञ्चालन गरेका कम्युनिष्टका तीन शीर्ष नेताहरु नेकपा फुटिसकेपछि भने उनीहरुको बीचको सम्बन्ध पनि फुटेको अवस्था छ । प्रचण्ड र नेपालको सम्बन्ध तुलनात्मक रुपमा राम्रो भए पनि ओलीको भने दुवै नेतासँग पानी बाराबारको सम्बन्ध रही आएको छ । नेकपाको किचलो र त्यसपछिको विभाजनपछि ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा देखिएका छैनन् । यस्तो अवस्थामा उनीहरु एउटै मञ्चमा देखिनुमा जनतामा चासोको विषय बनेको हो ।

भिन्नभिन्न मञ्चमा एक अर्काको खेदो खन्ने तीन शीर्ष नेताहरु एकै मञ्चमा उपस्थित हुँदा त्यहाँको माहोल हेर्न लायक बन्ने निश्चित यदि ओलीको स्वास्थ्यमा सुधार अएको अवस्थामा । तीनतिर उभिएर आपसी अस्तित्व स्वीकार गर्न नसक्ने तहमा पुगेका ठूला कम्युनिष्ट नेताहरू कुन रुपमा प्रस्तुत हुन्छ त्यो सबैको केन्द्रमा हुने छ । अध्यक्षद्वय ओली र प्रचण्डको भेट नभएको एक वर्ष नै भएको छ भने नेपालको ओलीसँग भेट नभएको पाँच महिना बितेको छ ।