समाचार

प्रविधिमैत्री बन्दै ट्राफिक सेवा : जहाँ समात्यो, त्यहीं जरिवाना तिर्न सकिने


काठमाडौँ — उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन अभियान नै थालेको छ । ट्राफिक प्रहरीले दिने सेवालाई प्रविधिमैत्री बनाउँदै आम सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने अभियानअन्तर्गत आजदेखि थप सेवा सुचारु गरेको छ ।

सवारी चालकहरूले ट्राफिक नियम उल्लंघन गरेपश्चात् ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टे पुर्जीबापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै कारबाहीस्थलबाट भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सकिने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बिहीबार एक कार्यक्रमबीच प्रविधिमा आधारित ‘पे फाइन अन द स्पोर्ट- इन्स्ट्यान्ट पेमेन्ट सिस्टमु व्यवस्थाको शुरुवात गरेका हुन् ।

सो अवसरमा एसएसपी भट्टराईले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुँदै गएको चर्चा गर्दै अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरी थप सहज बनाउन जरिवाना रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिने प्रणालीको आजदेखि सुरु गरेको बताए ।

पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावलाखेल र जनसेवा गरि पाँचवटा ट्राफिक कार्यालयबाट सुरु गरेको यो सेवालाई क्रमशस् अन्य कार्यालयमा समेत विस्तार गर्ने महाशाखाले जनाएको छ ।

मादक पदार्थ सेवन गरी सवारी चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका चालकहरूले भने ट्राफिक जनचेतनामूलक प्रशिक्षण लिएपछि मात्र ट्राफिक प्रहरी महाशाखाबाट आफ्नो कागजात फिर्ता लिन सकिनेसमेत महाशाखाले जनाएको छ ।