देश

पौडेल पक्षमा भाँडभैलो : सहमतिको आश मर्‍यो, देउवा आफु ढुक्क, पदाधिकारीमा रस्साकस्सी (भिडियोसहित)


काठमाडौँ — नेपाली काँग्रेसको १४औं महाधिवेशन अबको दुईदिनपछि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ । प्रचारप्रसारदेखि मञ्च व्यवस्थापनको तयारी अन्तिम अवस्था छ । तर नेतृत्व र पदाधिकारीको विषयमा नेताहरुबीच मतभेद नै चुलिएको छ ।

शुक्रबार १४औं महाधिवेशनको शुभारम्भ हुने मिति तय भएकाबेला बुधबार दिनभर नेताहरु दौडधुपमा केन्द्रीत बने । प्रधानमन्त्रीसमेत रहेको सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष पदाधिकारी व्यवस्थापनमै अल्झियो भने, सभापतिकै उम्मेद्वारका विषयमा अलमल परेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले निर्णायक छलफलबाट समेत निर्णय दिन सकेन ।

संस्थापनका तर्फबाट सभापतिमा पुनः निर्विकल्प जस्तै बनेका देउवालाई पदाधिकारीको व्यवस्थापन टाउको दुखाइको विषय बनेको छ । नेताहरुको राय बुझ्न बुधबार देउवाले आफु पक्षिय बैठक बोलाएपनि पदाधिकारीका आकंक्षी धेरै हुँदा बैठक निष्कर्षविहिन सकियो । सभापतिमा देउवा सुनिश्चित जस्तै भएपनि उपसभापतिमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार दाबी गरिरहेका छन् । तर गच्छदारसँग मुद्दा जोडिएका कारण देउवा उनलाई फकाएर उपसभापतिमा खड्का, ज्ञानेन्द्रबहादुर कार्की वा रमेश लेखकलाई ल्याउने तयारीमा छन् । गच्छदारलाई मनाउन दुई सहमहामन्त्री दिनेसम्मको तयारी देउवाको छ ।

यता उपसभापति लगायतका पद दिएर देउवा कृष्णप्रसाद सिटौला समुहसँग सहमति गर्न खोजिरहेका छन् । देउवाको सबैभन्दा ठुलो टाउको दुखाई महामन्त्रीको छनोटमा देखिन्छ । महामन्त्रीका लागि बालकृष्ण खाँण, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की र एनपी साउदले दाबी गरिरहेका छन् । विश्वप्रकाश शर्माले उम्मेद्वारी नै घोषणा गरेर अघि बढेपनि देउवाले सहमहामन्त्रीको प्रस्ताव गरेका छन् । राप्रपाबाट आएर सहमहामन्त्री बनेका सुनिल थापा पनि महामन्त्रीको आकंक्षी हुन् । भूगोलको व्यवस्थापन गर्दा रमेश लेखक र एनपी साउद मिलाउन पनि देउवालाई सकस छ । संस्थापन पक्षको सहमहामन्त्रीमा गोविन्द भट्टराई, मिन विश्वकर्मा, भिष्मराज आङदम्बे, महालक्ष्मी उपाध्याय, फर्मूला मन्सुरी, रामजनम चौधरी, जितेन्द्र देव र जीवनबहादुर शाहीको नाम चर्चामा छ ।

संस्थापनको रडाको पदाधिकारीमा मच्चिएको बेला संस्थापनइतर अन्तर्गतको पौडेल पक्षमा सभापतिकै उम्मेद्वार टुङगीएको छैन । यसअघि प्रमुख चार दाबेदार रहेको यो पक्षमा पौडेल र महामन्त्री शशांक कोइरालापछि हटेपनि प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमति भएको छैन । यी दुईबीच सहमति नभए पौडेल आफै सभापति हुने लाइनमा छन् । यसकै लागि सहमति बुधबार सिटौला निवास पुगेका पौडेलले उपसभापति लिएर आफुलाई समर्थन गर्न आग्रह गरेका थिए । तर सिटौलाले समर्थन गर्नुको आधार खोजेपछि यथेष्ट निष्कर्ष निस्किएन ।

यो पक्षबाट उपसभापतिका लागि अर्जुननरसिंह केसी, चन्द्र भण्डारी,महेश आचार्य र बलबहादुर केसीले दाबी गरिरहेका छन् । महामन्त्रीमा गगनकुमार थापाले उम्मेद्वारी नै दिएका छन् भने धनराज गुरुङ, मिनेन्द्र रिजाल दाबेदारका रुपमा रहेका छन् । सभापतिकै विषय अलमलमा परेपछि सहमहामन्त्री छलफलको विषय नै बनेको छैन ।

पार्टीभित्रको तेस्रोधारका रुपमा रहेको सिटौला पक्ष भने आफै टीम बनाएर अघि बढ्ने कि अन्य समूहसँग सहकार्य गर्ने निक्र्याेल गरेको छैन । यद्यपी सिटौला समूहबाट प्रदीप पौडेलले महामन्त्री र केही नेताले सहमहामन्त्रीको दाबी गरिरहेका छन् । सिटौला आफै भने देउवासँगसहकार्य गर्दै आफ्नो गुट बचाउन खोजिरहेका छन् । सभापतिको उम्मेद्वारी घोषणा गरेका विमलेन्द्र निधि र कल्याण गुरुङको पदाधिकारी अत्तोपत्तो छैन ।