राजनीति

कमल थापाको रुवाई : गीताको कसम खाएका थापाले राप्रपा फुटाउँछन् ? पूर्वराजाको साथमा लिङ्देन राजतन्त्र फर्काउलान् ? (भिडियोसहित)


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्व चयनमा राजेन्द्र लिङ्देनसँग पराजय भएपछि कमल थापाको छट्पटी बढेको छ । उनको छटपटी पराजयपछि विछिप्त मानसिकता मात्रै नभएर गम्भीर संकेतका रुपमासमेत हेरिएको छ ।

कहिले दरबारसँग राजकीय सत्ताको सुखभोग, कहिले दलसँग मिलेर पार्टी सत्ताको सुखभोग । पञ्चायतकालदेखि अहिलेसम्म राजकीय एवं पार्टी सत्ताको सुखभोगमा हराइरहेका कमल थापालाई आफैले बनाएका पार्टी सदस्यले चुनाव हराएपछि पर्नु पीर परेको छ । फेसबुक, ट्वीटर, टिकटक सबैतिर थापाको रुवाई झल्किन्छ ।

राप्रपाको राजनीतिमा थापाको मुद्दा हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको थियो । गणतन्त्र उनको मुद्दा थिएन । तर पटकपटक उनी गणतन्त्रात्मक व्यवस्थाको सरकारमा सहभागी भएर उपप्रधान मन्त्री खाए । काँग्रेस–कम्युनिष्टसँग मिलेर आफ्ना धेरै नेतालाई मन्त्रीसमेत बनाए । करिब डेढ दशक लामो पार्टी नेतृत्वमा रहँदा आफ्नै मुद्दामा हराएपछि अहिले आफैले हार्नुपरेको छ । जसको दोष उनले निर्मल निवासमाथि थुपारेका छन् ।

पराजयबाट बिछिप्त भएका थापाले राप्रपाको खोल उतारेपछि प्रचण्डभन्दा कट्टर गणतन्त्रवादी देखिने खतरा छ । ठिक यसैबेला पूर्वराजासँगको सहकार्यलाई तोड्दै नयाँ पार्टी गठनको तयारीमा रहेको चर्चाले समेत स्थान पाएको छ । पराजयपछि सार्वजनिक रुपमा उनका अभिव्यक्ति मुलतः निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित छन् । यथेष्ट प्रमाण आफुसँग सुरक्षित रहेको दाबी गर्ने थापाले केन्द्रीय नेतृत्व चयन पूर्वराजाकै तजबिजमा भएको उल्लेख गरेका छन् ।

शतप्रतिशत राजावादीभएको पार्टीमा पूर्वराजाको ठाडो र फोहोरी हस्तक्षेपले राजसंस्था पुनःस्थापना भए अन्य पार्टीमा समेत हस्तक्षेप हुँदैन भन्ने के ग्यारेन्टी भन्दै थापा प्रश्न उठाएका छन् । पार्टी एक रहन राप्रपाले राजसंस्थाको मुद्दा बोक्न छाड्नुपर्नेसम्मको संकेत थापाले गरेका छन् । राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टी गएपछि अभिभावकिय भूमिका निभाउनुपर्ने थापा सपथ ग्रहणदेखि केन्द्रीय कमिटीको पहिलो बैठकमै उपस्थित भएका छैनन् ।

निर्वाचित भए लगत्तै ६ महिनाभित्र राजसंस्था पुनःस्थापनामा सहमति गर्ने घोषणा गरेका लिङ्देन र राप्रपाले राजसंस्थाको मुद्दामा विचार गर्नुपर्ने बताइरहेका थापाबीच एकताको मोहभंगहुने खतरा छ । तर कुनै बेला गीतामा छोएर पार्टी नफुटाउने कसम खाएका थापालाई विभाजित हुन पनि नैतिक संकट छ ।

समकालिन राजनीतिक दलहरुलाई नै चुनौति दिने गरि नेतृत्व पुस्तान्तरणको कोणबाट लिङ्देनको विजयलाई राम्रो सन्देश मानिएको छ । तर राजनीतिक एजेण्डाको हिसाबले भने शंकास्पद र उत्तिकै घातक पनि । किनकि राजाकै तजबिजमा चल्ने पार्टीको नेतृत्व गरेका पूर्वअध्यक्षले त्यसै संकेत गरेका नहोलान् । थापाले हस्तक्षेप देख्नु र लिङ्देनले जितमा पूर्वराजालाई धन्यवाद दिनुको राजनीतिक अर्थ गम्भीर हुनसक्छ । तर गुमेको स्वर्ग फर्किदैन् भन्ने लगभग तय नै गरेका कमल थापा राजतन्त्र नबोक्ने निचोडमा पुग्न सक्लान् त ?