राजनीति

राष्ट्रिय सभाको निर्वाचन : सत्ता गठबन्धन र एमालेमध्ये कसले मार्ला बाजी ? (भिडियोसहित)


काठमाडौँ — आगामी माघ १२ गते राष्ट्रिय सभाका रिक्त १९ सदस्यका लागि निर्वाचन हुँदैछ । राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै निर्वाचन आयोगका साथै राजनीतिक दलहरु निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय हुन थालेका छन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेविरुद्ध सत्तागठबन्धन एक भएकोले चुनावी प्रतिस्पर्धाले रोचक बन्ने निश्चित छ ।

सरकारले निर्वाचन आयोगको प्रस्ताव अनुसार आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ । राष्ट्रिय सभाको निर्वाचन प्रक्रिया पुष १ गते दल दर्ताबाट सुरु हुनेछ । माघ १२ गते मतदानको कार्यतालिका छ ।
मतदानको कार्यतालिका
पुष १–१० राजनीतिक दल दर्ता
पुष १७ गते मतदाता नामावली प्रकाशन
पुष १८–१९ गते अन्तिम नामावली प्रकाशन
पुष २० गते मनोनयन दर्ता
पुष २१ गते उम्मेदवारको विरोधमा उजुरी
पुष २२–२३ उजुरीमाथि छानबिन
पुष २४ उम्मेदवारले नाम फिर्ता लिने
पुष २५ गते अन्तिम नामावली र चुनाव चिह्न प्रदान
र माघ १२ गते मतदान

राष्ट्रिय सभामा हाल कायम सदस्यमध्ये एक तिहाइ अर्थात (२० जना) सदस्यको पदावधि आगामी फागुन २० गते सकिदैछ । संविधानत ३ जना राष्ट्रपतिले मनोनित गर्नुपर्ने व्यवस्था छ । रिक्त पदमध्ये यो पटक एकजना मात्र राष्ट्रपतिबाट मनोनित हुनेछ । रिक्त हुन लागेका एक मनोनीतबाहेक १९ पदका लागि ३५ दिनअगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था अनुसार माघ १२ का लागि निर्वाचन मिति तय भएको छ ।राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सत्तागठबन्धनबीच हुने चुनावी प्रतिस्पर्धामहत्वपूर्ण रुपमा हेरिएको छ ।

प्रतिनिधि सभा विघटनपछि समिकरणमा सत्ता सम्हाली रहेका सत्तागठबन्धन राष्ट्रियसभा निर्वाचनमा पनि समिकरण सहित निर्वाचनमा जाने तय भईसकेको छ । दलको हैसियत र राष्ट्रियसभामा भएको सिटको आधारमा भागवण्डा सहित उम्मेदवार तय गरेर राष्ट्रिय सभा निर्वाचनमा जाने तयारीमा सत्ता गठबन्धन छ ।

एमालेका ८,माओवादी केन्द्रका ५,नेकपा एकीकृत समाजवादीका ४ ,र कांग्रेसका ३ जनाको पदावधि सकिँदैछ । पार्टीको हैसियत र सिट संख्याका आधारमा सहमतिमा उम्मेदवार चयन गठबन्धनका लागि फलामको चिउरा चपाए सरह बन्ने पक्का छ ।
अर्कोतर्फ एमालेपनि आसन्न राष्ट्रिय सभा निर्वाचनमा आफ्ना सिट सुरक्षित गर्न कठिन मात्र होइन असम्भव प्राय देखिन्छ । प्रदेश एक बाहेक ६ वटा प्रदेशमा सत्ता गठबन्धनभन्दा एमालेको मतभारमा धेरै कम छ । प्रदेश १ मा गठबन्धन भन्दा झिनो मतभारले अगाडि रहे पनि अन्य साना दलले गठवन्धनलाई साथ दिए राष्ट्रिय सभामा एमाले सिट विहिन हुने अनुमान लगाउन सकिन्छ ।

तर एमाले नेताहरु स्थानीय तहका प्रतिनिधि र एमालेबाट फुटेर गएका एकिकृतका सांसद अर्थात पूर्व एमालेहरुले आफुहरुलाई साथ दिने आशामा छन । पूर्व एमालेहरुले सुर्यलाई नै भोट दिने उनीहरुको दावी छ ।

एक्ला एक्लै निर्वाचनमा गए राष्ट्रिय सभामा एमालेको जीत निश्चित प्राय थियो । तर सत्ता गठबन्धनको समिकरण राष्ट्रिय सभा निर्वाचनमा जाने भएपछि एमाले अहिले तनावमा छ । कुनैबेला जनमतबाट बहुमत सहित सरकारको नेतृत्व गरेको एमाले पछिल्लो समय क्रमश पराजीतको शृङखता बेहोर्दै आएको छ । गठबन्धनको निर्वाचन रणनीति र हारको शृङखलालाई जीतमा परिणत गर्दै गठबन्धनलाई चुनौती दिन एमाले नेतृत्व कतिको सफल हुन्छ माघ १२ पछिको नतिजाले तय गर्ने छ ।