समाचार

मोटरसाइकल चोरीमा संलग्न गिरोहका ७ जना पक्राउ


काठमाडौँ — काठमाडौँमा मोटरसाइकल चोरी कार्यमा संलग्न ७ जना गिरोह पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार रामशाहपथस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरी कार्यमा संलग्न सो गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

गएराति काठमाडौँको बबरमहलबाट उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउन लागिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

उनले भने, ‘बेलुका बबरमहलबाट चोरेको मोटरसाइकल चोरसहित हामीले पक्राउ गर्न सफल भयौं। यो ७ जना भनेको काठमाडौँको ठूलै गिरोह हो । बाँकी अनुसन्धानको पाटो भएकाले उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउने काम हुनेछ ।’

त्यस अवसरमा महाशाखाले गत असार महिनायता चोरी भएका १८४ वटा मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको पनि जानकारी गराएको छ ।