राजनीति

कमल थापाले कुर्सी छोडेनन्, लिङ्देनले गरे अस्थायी कार्यकक्षमै पदभार ग्रहण (भिडियोसहित)


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले सोमबार पदभार ग्रहण गरेका छन् । लिङदेनले निवर्तमान अध्यक्ष कमल थापाले प्रयोग गरेको कोठामा नभई आफू महामन्त्री हुँदा बस्ने गरेको कोठामै पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण समारोहको तामझाम राम्रै भए पनि पार्टीका शीर्ष नेतृत्व भने उपस्थित थिएन ।

अनुभवी राजनीतिकर्मी राप्रपाका निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनले सोमबार चाबहिलस्थित पार्टी कार्यालयमा पूजाआजा सहित पदभार ग्रहण गरे । पदभार ग्रहण समारोहमा नवनिर्वाचित केहि पदाधिकारी र केहि महाधिवेशन प्रतिनिधिहरुको मात्र उपस्थिति रह्यो । अध्यक्षको हार वेहोरेका निवर्तमान अध्यक्ष कमल थापा सहित पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहोनी लगायत शीर्ष नेताहरु भने देखा परेनन् ।

पार्टी स्थापनाको ३१ वर्षपछिको राप्रपाको नेतृत्व संस्थापकबाट युवापुस्तामा सरेको छ । उनको विजयलाई समान्य व्यक्तिदेखि, विश्लेषक तथा अन्य ठूला दलका नेताहरुले समेत अर्थपूर्ण मानेका छन् । राजनीतिमा युवाहरु आउनुपर्ने डोङ बजाउने तर हिम्मत नगर्ने हनुमाने प्रवृत्तिका दोश्रो वा तेश्रो तहका नेताहरुका लागि लिङदेनले गतिलो झापट दिएका छन भने उनको विजयले नेतृत्व परिवर्तनको आकांक्षा राख्ने युवापुस्ताका लागि एक सुखद सन्देश दिएको छ ।

राप्रपाको चुनावी प्रतिस्पर्धामा निवर्तमान अध्यक्ष प्रकाशचन्द्र लोहोनी लिङदेनलाई र अर्का अध्यक्ष पशुपतिशमशेर राणाले थापालाई साथ दिएका थिए । राप्रपाभित्र यो गुट महाधिवेशनपछि पनि कायमै रहने अनुमान गरिएको छ । मतभेदपछि पार्टी विभाजन गर्नु राप्रपाका लागि सामान्य हो । विगतको फुट र एकता यसकै उदाहरण हो । महाधिवेशनले निम्त्याएको मतभेदले राप्रपा पुन फुटतर्फ धकेल्ने त होइन भन्ने शंका पैदा गराएको छ । पार्टीलाई फुटबाट जोगाउने जिम्मा अहिलेको नेतृत्वमा रहेको कतिपयको तर्क छ ।

विगतको विभाजन हुने परम्पराका कारण नेता कार्यकर्तामा पनि भय सृजना भए पनि राप्रपा नेतृत्वले अहिले फुटको अवस्थामा नरहेको स्पष्ट पारेको छ । पार्टीलाई नविन ढंगले अगाढि बढाउँदै जनताको सपना पुरा गर्न सबै मिलेर जानुको विकल्प नभएको अध्यक्ष लिङ्देनको भनाई छ ।

पार्टीको महाधिवेशनले पार्टीभित्र लामो समयदेखि जडा गाडेर रहेको सिन्डिकेटको अन्त्य गरेको कतिपयको धारण छ । पार्टीलाई अझ एकढिक्का बनाएर बलियो र प्रजातान्तिक पार्टी बनाउने दिशामा आफुहरु अगाडि बढ्नेमा नेताहरुले जोड दिएका छन् ।

लिङ्देनको जितले जीवनको अन्तिम क्षणसम्म पार्टी नेतृत्व र सत्ताका लागि मरिहत्ते गरिरहने नेपाली राजनीतिको एउटा प्रवृत्तिलाई पराजय गराएको छ । अध्यक्षमा पराजीत थापालाई एजेण्डामा सहभागि गराएर पार्टी हाक्न लिङदेनका लागि यो यात्रा सहज पक्कै छैन । त्यसमा पनि निर्वाचित केन्द्रीय सदस्यमा ९० जना लिङ्देन इतरका छन । यस्तो अवस्थामा विपक्षीलाई मनाएरै पार्टी हाक्नुपर्ने बाध्यतामा लिङ्देन रहेका छन् ।