मौसम

नेपालमा सामुन्द्रिक चक्रवातको असर : हिमाली भू-भागमा हिमपातको सम्भावना


काठमाडौँ — बंगालको खाडीको मध्य पश्चिम भू-भागमा शुक्रबार जवाद (JAWAD)   नामको सामुन्द्रिक चक्रवात बनेको छ । सो चक्रवात आज बिहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात् उत्तर उत्तर पूर्व तर्फ सर्ने देखिएको छ । सो चक्रवातका कारण नेपालमा खासै ठुलो प्रभाव पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यद्यपि यसको अप्रत्यक्ष प्रभावले आज रातिबाट प्रदेश नं १ , प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागहरुका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ भने सो प्रदेशका एक(दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । आउँदो सोमबार बाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने देखिन्छ ।

आइतबार बाट पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने सम्भावना देखिएको छ । सो पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली भई केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र सो प्रदेशहरूको उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । सोमबार सो प्रणाली ले देशभर प्रभाव पारी केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आइतबार राती र सोमबार दिउसो सो प्रणालीका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक-दुई स्थानहरूमा भारी हिमपातको समेत सम्भावना रहेको छ । सो प्रणाली सोमवार राती बाट कमजोर बन्दै जाने सम्भावना रहेको छ । यी मौसमी प्रणालीहरूका कारण पर्वतारोहण, हवाईरयातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ ।