राजनीति

राप्रपा महाधिवेशन आज : थापालाई अध्यक्षमा रोक्न लिङ्देनको कडा टक्कर, नेतृत्वमा नयाँ अनुहार खोज्दै कार्यकर्ता


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि आज (शनिबार)निर्वाचन हुँदै छ । काठमाडौँमा बुधबारदेखि जारी राप्रपाको एकता महाधिवशेनअन्तर्गत आज उम्मेदवारहरूबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।

शुक्रबार उमेदवारी दर्ताका लागि राष्ट्रिय सभागृहमा दलबलसहित पुगेका दुवै पक्षले आफ्नो जीतको दावी गरेका छन् । थापा प्यानलबाट उपाध्यक्षका लागि बुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुवबहादुर प्रधानको उम्मेदवार बनेका छन् । यस्तै थापा प्यानलबाटै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहेकी छन् । यसैगरी महामन्त्रीको उम्मेदवार भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाही रहेका छन् । एकिकृत पार्टीको अध्यक्ष बन्ने दौडमा रहेका कमल थापाले पार्टी एकतालाई निरन्तरता दिन आफू अध्यक्षको आकांक्षि भएको बताएका छन् । अध्यक्षमा निर्वातिच भए पार्टीलाई एक ढिक्का बनाउने प्रण गरेका छन् ।

राजेन्द्र लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार रहेका छन् भने महामन्त्रीमा डा धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम रहेको छ । विक्रम पाण्डे चाहीँ दुवै प्यानलको साझा उमेदवार बनेका छन् । त्यसो त पाण्डेलाई सर्वाधिक मत आउने आँकलन गरिएको छ । पदाधिकारीका बाँकी उम्मेदवार भने कसैको प्यानलमा अटाएका छैनन् ।

कुन प्यानल विजयीको यात्रामा हुने छ भन्ने अब रस्सकस्सी सुरु भएको छ । पकट पटक पार्टी टुटफुट र जुटको दोष थापा माथि पनि छ । किनकी उनी कुनै न कुनै रुपमा फुटको कार्यमा संलग्न छन् । पटक पटक नेतृत्वमा रहेर पनि संगठनलाई चुस्त बनाउन नसकेको दोष थापाले खेप्दै आएका छन् । राजसस्थाको नारालाई एक ढिक्का बनाई बुलन्द बनाउन नसकेको अवगुण त अधिकांश कार्यकर्ताले विश्लेषण गरिरहेका छन् ।

राजेन्द्र लिङदेनको हकमा भने कार्यकर्ताको बुझाई फरक देखिएको छ । उनी भूगोलको राजनीति गरेर जनमत जितेर जनप्रतिनिधिको रुपमा क्रियाशिल छन् । लिङदेनले आफ्नो जीत हुँदा गुटहरुको समूल अन्त्य र आन्दोलनको नयाँ कोर्ष सुरु हुने सपना देखेका छन् ।

बेला बेला राजसस्थाको वकालत गर्दै हुने छिटफुट आन्दोलन, हिन्दु धर्म सापेक्ष व्यवस्थाको आन्दोलनले गति लिन नसकेको समयमा आफूलाई राजावादी भन्ने ससाना गंगठनहरुले पनि लिङदेनको पक्षमा लबिङ गरिरहेको देखिन्छ । यो जनजातीको पनि पार्टी हो भन्ने सन्देश प्रवाहका लागि पनि यस पटक लिङदेनको उमेदवारी अर्थपूर्ण छ । निरंकुश, सामन्ति वा एलिट समूहको नेतृत्व गर्ने पार्टीको ट्याग लागेको राप्रपामा जनजातीको छोरो पहिलो पटक नेतृत्वका लागि उभीँदा कार्यकर्ता तहमा छुटै उत्साह पनि देखिएको हो । काठमाडौँको भृकुटीमण्डपमा विहान बिहान ८ बजे मतदान सुरु हुँदै छ । मतदान ५ बजेसम्म जारी रहने राप्रपाको निर्वाचन समितिले जनाएको छ ।

राप्रपाको नेतृत्व लिन प्यानलसहित वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् । उनीहरूले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । राप्रपाको केन्द्रीय समितिमा रहने पदाधिकारीसहित १४१ सिटका लागि २६४ जनाको उम्मेदवारी परेका छन् ।

राप्रपा केन्द्रीय निर्वाचन समितिका सदस्य एवम् वरिष्ठ अधिवक्ता राजु बस्नेतका अनुसार उपाध्यक्षमा २ महिलासहित ८ जनाले उम्मेदवारी दिएका छन्। यस्तै महामन्त्रीमा दुई महिलासहित ६ जनाको उम्मेदवारी परेको छ ।

राप्रपाको विधानअनुसार निर्वाचनबाट अध्यक्ष एक, उपाध्यक्ष ४ र महामन्त्री ३ जना चुनिनेछन्, अन्य सदस्य हुनेछन् । उपाध्यक्ष र महामन्त्रीमा एकरएक जना महिला अनिवार्य गरिएको छ। यसबाहेक चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनीत गर्ने व्यवस्था छ ।

राप्रपा अध्यक्ष पदको मतदानमा कागज प्रयोग हुनेछ भने अन्य पदमा युवा वैज्ञानिकहरू राम-लक्ष्मणले बनाएका ९१ वटा विद्युतीय मतदान मेसिन प्रयोग गरिँदै छ । ​ एक जना महाधिवेशन प्रतिनिधिलाई मतदानका लागि कम्तीमा १५ मिनेट लाग्ने बताइएको छ । मतदानमा ४ हजार ७ सय प्रतिनिधि सहभागी हुँदै छन् ।