राजनीति

निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन गर्दै, आफू बसेकै ठाउँबाट पनि दर्ता गर्न सकिन


काठमाडौँ – निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन गर्दै छ । मतदाता नामावली संकलनको काम ६३७ स्थानीय तहका केन्द्रबाट हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

त्यसबाहेक ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता संकलनको काम हुने आयोगले बताएको छ । मतदाता नामावली संकलनको काम हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुनेछ भने तराई, भित्री मधेस तथा काठमाडौँ उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ ।

संकलन कार्य हरेक जिल्लामा दुई चरणमा हुने र सम्बन्धित निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरी आफ्नो स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने अवधिको बारेमा जानकारी प्राप्त गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था आयोगले गरेको छ ।