राजनीति

राप्रपामा अध्यक्षको भिडन्त : कमल थापालाई भारी पर्दैछन् लिङ्देन, पूर्वराजा, रेखा थापाको रोजाई लिङ्देन


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले एकतापछिको पहिलो महाधिवेशन सुरु गरेको छ । यो महाधिवेशनले आगामी चार बर्षका लागि नेतृत्व चयन गर्नेछ । जसका लागि अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङदेन चुनावी मैदानमा होमिएका छन् ।

महाधिवेशनको चटरोले अधिकांश दललाई छोएका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी पनि आगामी नेतृत्वका लागि महाधिवेशनमा होमिएको छ । सम्भवत, अबको दुईदिनपछि राप्रपाले आगामी नेतृत्व तय गर्नेछ । र यसको दौडमा छन्, कमल थापा र राजेन्द्र लिङदेन । थापा पार्टीको वर्तमान अध्यक्ष हुन् ।१५ बर्षदेखि पार्टीमा राजकाज चलाएका उनी पुनः नेतृत्वमा दोहोरिने तयारी गरेका छन् ।

लिङदेन भने राप्रपाको एकमात्र जननिर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । संसदमा राप्रपाको एक सीट छ, त्यो लिङदेनकै नाममा दर्ता छ । युवा र जनताले पनि पत्याएको। फलतः उनी आफु नै अध्यक्ष हुनुपर्ने दाबी गरिरहेका छन् । उनले थापालाई समयको पदचाप बुझ्दै अध्यक्षको दौडबाट पछि हट्न आग्रह समेत गरेका छन् ।

यी दुईको भिडन्तमा हालका अन्य दुई अध्यक्ष पशुपतिशम्सेर जबरा र प्रकाशचन्द्र लोहनी पन्छिएका छन् । लोहनीले लिङदेन नै अहिलेको उपयुक्त विकल्प भन्दै समर्थन गरेका छन् । जबरा भने आफुले अध्यक्ष दाबी गर्दा एकतामा असर पर्नेसक्ने भन्दै नेतृत्वको रेशबाट बाहिरीएका छन् । तर कसलाई समर्थन गर्ने मुख खोलेका छैनन् । उनले थापालाई समर्थन गर्ने चर्चा त छ, यद्यपी परिपक्क वातावरण देखिएको छैन । तर थापाले आगामी चार वर्ष धैर्य गर्न आग्रह गर्दै बलियो पार्टी बनाएर युवा पुस्तालाई हस्तान्तरण गर्ने दाबी गरेका छन् ।

नयाँ पुस्तालाई पार्टीको नेतृत्व हस्तान्तरण गर्नुपर्ने भन्दै आउँदो महाधिवेशनमा अध्यक्षका उम्मेदवार लिङ्देनलाई समर्थन गर्नेको संख्या ठुलो छ । चर्चित अभिनेत्री रेखा थापादेखि महामन्त्रीका उम्मेद्वार धवलशमसेर राणाको समर्थन समेत लिङदेनलाई छ । राजसंस्था पुनःस्थापनाका पक्षमा लिङदेनको स्पष्ट धारणा प्रकट भएकाले पूर्वराजाको साथ पनि लिङदेनलाई रहने गाँइगुँई चलेको छ । बुधबार उद्घाटन भएको राप्रपा महाधिवेशनले अध्यक्षसहित १ सय ९९ सदस्यीद पदाधिकारीको छनोट गर्नेछ । त्यसमध्ये एक सय ४९ देशभरका ४ हजार ६ सय महाधिवेशन प्रतिनिधिबाट निर्वाचित हुनेछन् ।