राजनीति

को बढी राजावादी ? को बढी राष्ट्रवादी ? (भिडियोसहित)


काठमाडौँ — राजसंस्था पुनःस्थापना तथा हिन्दु राष्ट्रको माग गर्दै महाधिवेशनमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा कम्युनिष्ट नेताहरुबीच नै राजावादी बन्ने होड चलेको छ । राजावादीको मञ्चमा उभिएर राष्ट्रवादी देखिन खोज्दा नेकपा मालेका महासचिव सीपी मैनाली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आरोप प्रत्यारोप नै चलेको हो ।

पार्टी एकतापछि पहिलोपटक राप्रपाले एकता महाधिवेशन गर्दैछ । जसको उद्घाटन हिजो सम्पन्न भयो । राप्रपाले महाधिवेशनको निम्तो काँग्रेस–कम्युनिष्ट सबैलाई दिएको थियो । भर्खरै महाधिवेशन सम्पन्न गरेको नेकपा एमालेको उद्घाटन सत्रमा निम्तो पाएर पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका थिएनन् । तर राप्रपाको महाधिवेशन भने प्रचण्डले छुटाएनन् । बरु राजा फर्काउनुपर्छ भन्दै महाधिवेशनमा होमिएको राजावादी पार्टीको मञ्चमै अर्का कम्युनिष्टनेतासँग जुहारी खेले ।

नेकपा मालेका महासचिव सीपी मैनालीले २०४६ पछिका परिवर्तनमा बाह्य हस्तक्षेपले कब्जा जमाएकोर पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको २०६२÷६३ को परिर्वतनमा झनै ठुलो बाह्य हस्तक्षेप देखिएको बताए । त्यसको मतियार प्रचण्ड बनेको आशयमा बोलेका मैनाली उनकै अघि राजा महेन्द्रको प्रशंसा उत्रिएपछि प्रचण्ड मञ्चमै प्रतिवादमा उत्रिए ।

कुनैबेला राजतन्त्र सिध्याउनुपर्छ भनेर झापा बिद्रोहको सुरुवात गरेका र टाउको काट्नुपर्छ भनेर तयार भएका मैनालीले महेन्द्रलाई महान राजा भनेको सुन्दा अनौठो मानेको जवाफ दिएका थिए । उनको कटाक्ष यही रोकिएन । मैनालीलाई राप्रपाको अध्यक्ष हुने तयारी गरेको भन्दै बधाई नै दिए । तर मैनालीले विहिबार थप अर्काे खण्डन गरेका छन् । उनले भनेका छन्, प्रचण्डलाई जे हो त्यहीँ भन्दा किन आपत्ति ?

आंकतकारीको विल्ला हटाउँदा माओवादीलाई विदेशी एजेण्डाको भारी बोकाएर प्रचण्डले देशघाती काम गरेको अभिव्यक्ति मैनालीको थियो । प्रचण्ड यहीँ रोकिएका छैनन् । आफुलाई राष्ट्रवादी नभई राष्ट्रघातीकै रुपमा प्रस्तुत गरेपछि मैनालीलाई उनले नाम कम्युनिष्टको काम सामन्तीको भन्दै आज थप आक्रोश व्यक्त गरे ।

मैनालीलाई राप्रपा अध्यक्षको विल्ला भिडाएका प्रचण्डले राप्रपासँग आफ्नो गोत्र मिल्ने बताएका छन् । मुलुकमा राजतन्त्र अन्त्य गर्न अग्रणी भूमिका निर्वाह गरेका उनले राजतन्त्र पुनःस्थापना गर्नुपर्ने एजेन्डासहित अघि बढेको राप्रपासँग आफ्नो गोत्र मिल्ने बताएपछि सामाजिक सञ्जालमा उनको आलोचना भएको छ ।

हुनत निरन्तर रुपमा पार्टी र आफूलाई निरीह रुपमा प्रस्तुत गरिरहने प्रचण्डले यस्ता अभिव्यक्ति दिइरहन्छन् । जसलाई विश्लेषकहरु नेपालका पार्टी र व्यक्तिहरुमा विचार र सिन्दातको खडेरीका रुपमा बुझिरहेका छन् ।