राजनीति

नेपाली काँग्रेसको प्रदेश अधिवेशनमा महाधिवेशनको झल्को, कुन प्रदेशमा को हाबी ? (भिडियोसहित)


काठमाडौँ — मिनि महाधिवेशनको रुपमा हेरिएको नेपाली काँग्रेसको प्रदेश अधिवेशन आजबाट सुरु भएको छ । नेतृत्वको लागि भएको तछाड मछाड र मञ्चमा कुन पक्षलाई धेरै साय दिने भन्नेजस्ता विषयमा भएका विवादले प्रदेश अधिवेशनले काँग्रेस महाधिवेशनकै झल्को दिएका छन् ।

नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनको विहिबारबाट सुरु भएको छ । नेतृत्व हत्याउन काँग्रेसमा रहेका विभिन्न गुट र उपगुटले गरेको खिचातानी र चलखेलले प्रदेश अधिवेशनले महाधिवेशनको झल्को दिइरहेको छ । कुरा सुरु गरौं गण्डकी प्रदेशबाट । गण्डकी प्रदेश अधिवेशनको उद्घाटन सत्रमै वक्ता कुन पक्षको कति राख्ने भन्नेमा विवाद हुँदा नाराबाजी भयो । उद्घाटन सत्रको कार्यक्रममा सभापति शेरबहादुर देउवा पक्षका नेताहरुलाई मात्र बोल्न दिएको भन्दै रामचन्द्र पौडेल पक्षका कार्यकर्ताले नाराबाजी गरेका थिए ।

कार्यक्रममा पौडेल पक्षका नेताहरुलाई वक्ता नराखिएको भन्दै पौडेल पक्षका कार्यकर्ताले नाराबाजी र विरोध प्रदर्शन गरेका हुन् । पौडेल पक्षका कार्यकर्ताले प्रदेश अधिवेशनमा तोकिएको उम्मेदवारी शुल्कमाथि चर्को भएको भन्दै विरोध जनाए । त्यस्तै सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशकोे उद्घाटनसत्र पौडेल पक्षले बहिस्कार गरेको छ । उद्घाटनसत्रमा आफूहरूलाई औपचारिक निमन्त्रणा नआएको भन्दै पौडेल समूह अनुपस्थित भएको हो । यता प्रदेश नम्बर १ को अधिवेशन स्थगित भएको छ ।

कांग्रेस पूर्वमहामन्त्री तथा प्रदेश १ का संयोजक कृष्णप्रसाद सिटौलाले भोलि बिहान मात्र प्रदेश अधिवेशन उद्घाटन गरिने बताए । केही ठाउँमा पार्टीका अधिवेशन भइरहेको र मतगणना नसकिएको भन्दै अधिवेशन भोलिसम्मका लागि स्थगित गरिएको छ । सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमा सुरु भएको छ । प्रदेशका ९ वटै जिल्ला कैलाली, कञ्चनपुर, बैतडी, डडेल्धुरा, दार्चुला, डोटी, बझाङ अछाम र बाजुराका प्रतिनिधिहरु धनगढी पुगेका छन् । यता बागमती प्रदेशमा पनि आजै अधिवेशन उद्घाटन भएको छ । उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता प्रकाशमान सिंहले काँग्रेसको नेतृत्वमा देशमा शान्ति र संविधान जारी भएकाले आगामी दिनमा पनि काँग्रेस देश र जनताको हितको रक्षामा प्रतिवद्ध रहने बताए ।

लुव्बिनी प्रदेश र प्रदेश २ मा पनि काँग्रेस अधिवेशन आजै सुरु भएको छ । प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए ।

देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने भन्दै पार्टीको अधिवेशन लगत्तै चुनाव तर्फ केन्द्रीत हुन निर्देशन दिएका हुन् । उनले पार्टी भित्रको आन्तरिक चुनाव हुने हार, जित स्वभाविक प्रक्रिया र लोकतान्त्रिक अभ्यास भएको भन्दै आगामी दिनमा जनताको विश्वास जित्नेगरी चुनावमा केन्द्रीत हुन आग्रह गरे ।

प्रदेश अधिवेशनको शुक्रबार उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, मनोनयन पत्र उपर दाबी विरोध दर्ता, मनोनयन फिर्ता एवम् अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिको छ । मंसिर १८ गते बिहान ८ बजेदेखि प्रदेश अधिवेशनको मतदान सुरु हुनेछ ।