राजनीति

संसद र सर्वोच्चमा देखिएको समस्या समाधानका लागि उपाय खोज्छु : सभामुख सापकोटा


काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले संसदमा देखिएको गतिरोध र सर्वोच्च अदालतमा देखिएको विवाद समाधानका लागि आफूले उपाय खोजेर अघि बढने बताएका छन् ।

स्पेनमा सम्पन्न आइपीयू को १४३ औं सम्मेलनमा सहभागी भइ बिहीबार स्वदेश फर्केका सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

‘म स्पेन जानु अघि नेपाल बारले ध्यानाकर्षण पत्र पनि बुझाएको थियो,’ उनले भने, ‘यस बीचमा के भयो त्यो बुझ्न पाएको छैन । अब यसका बारेमा पनि मैले उपाय खोज्ने छु ।’ उनले संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा पनि कसरी अघि बढ्ने भन्ने विषयमा आफूले उपाय खोजिरहेको र त्यसै अनुसार अघि बढने बताए ।

स्वदेश बाहिर रहँदा पनि राष्ट्रिय राजनीतिका बारेमा आफूले जानकारी लिइ नै रहेको भन्दै उनले स्वदेश फर्किसकेको र पहलकदमी लिने बताए । लोकतन्त्रको चुनौती सबैलाई समेटेर लैजाने कुरा नै भएको उनको भनाइ छ ।

अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा यही मंसिर ८ गते स्पेनको म्याड्रिड गएका थिए । सम्मेलनलाई सभामुख सापकोटाले १२ गते सम्बोधन गरेका थिए ।